आर्थिक वर्ष २०७९/८० मा ५ हजार २६६ करदाता पूर्ण कर परीक्षणमा परेका छन्।
आन्तरिक राजस्व विभागका उप महानिर्देशक अर्जुन भट्टराईले प्रस्तुत गरेको कार्यपत्र अनुसार ५५ लाख ५४ हजार करदातामध्ये ५ हजारभन्दा बढी करदाताको गत वर्ष पूर्ण अडिट गरिएको हो।
करदाताले आयकर ऐन २०५८ को व्यवस्था अनुसार आफूले तिर्नुपर्ने कर स्वःघोषणा गर्ने गर्छन्। त्यसमध्ये आन्तरिक राजस्व विभागले कर परीक्षण ठिक भएको वा नभएको भनेर दुई प्रतिशतसम्म करदाताको विवरण पूर्ण परीक्षण गर्न सक्छ।
गत वर्ष जम्मा ०.०९ प्रतिशत करदाताको पूर्ण विवरण परीक्षण गरिएको हो। उपमहानिर्देशक भट्टराईकाअनुसार व्यवसायिक स्थायी लेखा नम्बर लिएका ३६ लाख र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका १८ लाख करदाता रहेका छन्।
गत वर्ष लक्ष्यको तुलनामा आन्तरिक राजस्व विभाग मातहतबाट २४ प्रतिशत न्यून राजस्व उठाएपछि विगतको तुलनामा पूर्ण कर परीक्षण बढाइएको थियो।
गत वर्ष विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै राजस्व असुली भएको थियो।