अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्।
बिहीबार सुख्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन्।
'भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं' मन्त्री डा. महतले भने।
मन्त्री डा. महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको र राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए।
'बजारमा प्रशस्त माल वस्तु छ, तर राजस्व घटिरहेको छ भने मन्त्री डा. महतले भने, 'त्यो अवस्थामा तपाईंहरूलाई प्रश्न गर्नेछन्। हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दियाै भने राजस्व कम उठ्छ।'
'दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरू खाले माग गरिराख्यौं भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौं' मन्त्री डा. महतले भने, 'त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।'
'जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छन्' मन्त्री डा. महतले भने, 'राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ।'
अर्थमन्त्रीले थपे 'प्रविधिलाई अपग्रेट गर्नुपर्छ। सुख्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन। किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन्। यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो। प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो। त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईंहरूले सहयोग गर्नुपर्छ।'
कर्मचारीले आफू काम गर्न आएको हो, फाइदा उठाउन होइन भन्ने कुरा मनन गर्न सकेको खण्डमा राजस्वले लक्ष्य भेट्ने अर्थमन्त्री महतले बताए।
राजस्वको लक्ष्य के छ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन? कार्यालयको योजना के छ? यसको समाधान गर्ने बाटो के हुनसक्छ? मन्त्रालयसँग के अपेक्षा छ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले बताए।