सार्वजनिक लेखा समितिले एक क्विन्टल सुन तस्करी प्रकरणमा गम्भीर छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ।
आइतबार बसेको लेखा समितिको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सरकारको ध्यानकर्षण गराउन निर्णय भएको समितिका ज्येष्ठ सदस्य तथा बैठकका सभापति अर्जुननरसिंह केसीले बताए।
एमाले सांसदहरूले निर्देशन दिनुपर्ने माग राखे पनि बैठकले अहिले ध्यानाकर्षण गराउने निर्णय गरेको हो। एमाले सांसदहरूले अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने माग राखेका थिए।
एमाले सचिव समेत रहेका लेखा समिति सदस्य योगेश भट्टराईले प्रहरीले गृहमन्त्री र अर्थमन्त्रीको छानबिन गर्नको लागि नसक्ने भएकोले उच्चस्तरीय छानबिन समितिकै आवश्यक रहेको बताए।
'सरकारमा सहभागी दलको ठूलो नेता तानिएका छन्। तर, सरकार छानबिन गर्न चाहँदैन,' भट्टराईले भने, 'भन्सारको गडबडीबारे छानबिन गर्नु पर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर यो छनबिन पनि हुन सक्दैन।'
एमाले सांसद ऋषिकेष पोखरेलले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म यो प्रकरणमा यथार्थ छानबिन नहुने बताए।
जसपा सांसद प्रदिप यादवले लेखा समितिले छुट्टै उपसमिति गठन गरेर छानबिन गर्नुपर्ने बताए। 'सुन तस्करीको विषयमा सार्वजनिक लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गरोस्,' यादवले भने।
कांग्रेस सांसद रामकृष्ण यादव र तेजुलाल चौधरीले यस प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने बताए।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिर निकालिएको अवस्थामा अनुमानित एक क्विन्टल सुन बरामद गरिएको थियो।