राष्ट्र बैंकले साना सेयर लगानीकर्तालाई राहत दिने गरेर नीति ल्याएको छ।
नेपाल राष्ट्र बैंकले ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन्।
मौद्रिक नीति सार्वजनिकपछिको कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
हाल, सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रूपैयाँसम्मको कर्जाको हकमा एक सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था छ।
त्यस्तै, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जामा राखेको जोखिम भार पुनरावलोकन गर्ने भएको छ।
अब दर्ता भएका रियल स्टेट व्यवसायीलाई जाने कर्जाको भार पनि १ सय ५० बाट घटाएर एक सय प्रतिशत बनाइने अधिकारीले बताएका छन्।
२५ लाख रूपैयाँसम्मको अटो कर्जाको भार पनि १५० प्रतिशतबाट घटाएर एक सय प्रतिशत राख्नुपर्ने व्यवस्था गर्न लागिएको हो।
यस सम्बन्धमा राष्ट्र बैंकले छिट्टै परिपत्र जारी गर्ने समेत उल्लेख गरेको छ।