राष्ट्र बैंकले हाल तोकिएको प्राथमिकता प्राप्त क्षेत्र पुनरावलोकन गर्ने भएको छ।
आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र पुनरावलोकन गर्ने जनाएको हो।
हाल कृषि, जलविद्युत, लघु, घरेलु, साना एवम् मझौला उद्यमलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखिएकोमा पुनरावलोकन गरिने भएको हो।
निर्माण व्यवसायीहरूले यो क्षेत्रलाई पनि प्राथमिकता प्राप्त क्षेत्रमा राख्नुपर्ने माग राखेका थिए। राष्ट्र बैंक पुनरावलोकन गर्दा कुन-कुन क्षेत्र समेट्ने भन्ने विषय खुलाएको छैन।
कुन क्षेत्रमा कति छ लगानी?
राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमध्ये सबैभन्दा धेरै लगानी कृषि क्षेत्रमा देखिएको छ।
कृषि क्षेत्रमा वाणिज्य बैंकले जम्मा लगानीको १३.१ प्रतिशत लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० जेठ मसान्तसम्ममा करिब ५ खर्ब ५३ अर्ब (५ खर्ब ५२ अर्ब ९९ करोड) कृषिमा लगानी पुगेको हो। कृषिमा विकास बैंकले एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।
ऊर्जा क्षेत्रतर्फ वाणिज्य बैंकको २ खर्ब ८६ अर्ब ७७ करोड कर्जा पुगेको छ। जम्मा कर्जामा यो ६.८ प्रतिशत हो। लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.९ प्रतिशत अर्थात् ४ खर्ब १८ अर्ब ३६ करोड ऋण वाणिज्य बैंकले विस्तार गरेका छन्।
वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत ६.१ प्रतिशत (२ खर्ब ६० अर्ब ८४ करोड) कर्जा विपन्न वर्गमा गएको छ।
त्यसैगरी, विकास बैंकहरूबाट यस क्षेत्रमा ९.१ प्रतिशत (४२ अर्ब ३२ करोड) र वित्त कम्पनीहरूबाट ६.१ प्रतिशत (५ अर्ब ६५ करोड) कर्जा विस्तार गरेका छन्।