गत आर्थिक वर्षमा भन्सार राजस्व एक खर्ब १५ अर्ब रूपैयाँले घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा २३ प्रतिशतले घटेको हो।
आर्थिक वर्ष २०७८/७९ मा ५ खर्ब ६ अर्ब ४२ करोड रूपैयाँको भन्सार राजस्व उठेको थियो। आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँ मात्रै राजस्व उठेको भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काले बताए।
भन्सार राजस्व गत वर्षको तुलनामा २३ प्रतिशत र लक्ष्यको तुलनामा ४२ प्रतिशतले कम उठेको छ।
१० प्रकारका वस्तुमा लगाइएको आयात प्रतिवन्ध तथा पेट्रोलियम गाडीको सट्टा विद्युतीय गाडीको आयातको कारण भन्सार राजस्वमा उल्लेख्य कमी आएको भन्सारका अधिकारीहरूको भनाइ छ।
राजस्व कम हुनुमा गाडी तथा पेट्रोलियम पदार्थको आयातमा आएको कमी भए पनि चोरी पैठारीको कारण पनि राजस्वमा प्रभाव पारेको सरोकारवालाहरूको भनाइ छ।