अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोली आगामी साउन ४ गतेदेखि साउन १० गतेसम्म नेपाल भ्रमणमा रहने भएको छ।
नेपालका लागि मिसन चिफको नेतृत्वमा आउने आइएमफको टोलीले नेपाललाई दिइएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी) अन्तर्गतका भइरहेका सुधार कार्यक्रमहरूको कार्यान्वयनको अनुगमनको लागि आउन लागेको हो।
गत फागुनमा पनि आइएमएफको टोली नेपाल भ्रमणमा आएको थियो।
आइएमएफको तेस्रो समीक्षा अघि यस्तो अनुगमन हुन लागेको हो।
आइएमएफले किस्ताबन्दी रुपमा कुल ३७ करोड डलरको यस्तो सुविधा नेपाललाई दिइरहेको छ।
आइएमएफएफले यही विस्तारित कर्जा सुविधा अन्तर्गत राष्ट्र बैंकले आगामी वर्ष अन्तर्राष्ट्रिय परीक्षक मार्फत् नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर मूल्यांकन गराउने तालिका छ।
यस सहयोग अन्तर्गत वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षण बलियो बनाउने र वित्तीय स्थायित्व कायम गर्ने, बैंकहरूको सम्पत्तिको गुणस्तरमा कोभिड–१९ को प्रभाव निगरानी गर्ने, सम्भावना भएका तर अल्पकालमा पुँजी अभावमा रहेका व्यवसायिक संस्थाहरूमा गएको कर्जाको पुनर्संरचना गर्ने कार्यक्रम छ।
त्यस्तै, बैंकहरूले अनुपालनको परिपालना सुनिश्चितता गर्ने, सुपरीवेक्षकीय सूचना प्रणाली कार्यान्वयनमा ल्याउने र वित्तीय क्षेत्रको स्वास्थ्य नखस्किने गरी पुनरोत्थानमा सहयोग गर्ने सक्ने पनि रहेको छ।