नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ।
नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले राप्रपा संसदीय कार्यालयमा छलफल गरेका हुन्।
परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरूले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्ने बताए।
निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए।
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पिपिए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनले बताए।
अध्यक्ष अग्रवालले भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए।
सो अवसरमा पूर्व ऊर्जा मन्त्री समेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताए। उनले जलविद्युत आयोजनाको पिपिए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै सबै जलविद्युत आयोजनाको पिपिए खुला गरिनुपर्ने बताए। उनले पिपिए खुला गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सो अवसरमा उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए।