अर्थमन्त्री प्रकाशशरण महतले विगतमा सरकारले गरेको आयात रोक्का र राष्ट्र बैंकले जारी गरेको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा आएको बताएका छन्।
अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेट छलफलमा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
महतले भने, 'कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा हाम्रो अर्थतन्त्रमा आवश्यक मुद्रा प्रवाह भएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन।'
विदेशी विनिमय सञ्चिति दबाबमा रहेको भन्दै अघिल्लो सरकारले १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको र राष्ट्र बैंकले समेत कसिलो मौद्रिक नीति ल्याएकोले अर्थतन्त्र मन्दीमा गएको महतको भनाइ छ।
उनले पछिल्ला महिना बाह्य सूचकहरूमा सुधार देखिएको र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमार्फत विशेष नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको बताएका हुन्।
'अर्थतन्त्र चलायमान हुने गरेर मौद्रिक नीतिमा विशेष व्यवस्था ल्याउन हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई पनि निर्देशन गरिसकेका छौं।'
उनले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिरहको समेत जानकारी दिए। अर्थमन्त्री महतले मुलुकको क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च भइरहेको भए पनि अहिले यो नीतिमा संशोधनको सम्भावना नरहेको बताएका छन्।
तर, विपन्न वर्गको तथ्यांक संकलन भइरहेको र त्यस्ता वर्गलाई लक्षित गरेर मात्र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन हुने पनि महतले बताए।
उनले भने, 'जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नु पर्दैन। यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रूपमा कार्यान्वयन गर्न सक्छौं।'