प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई आमन्त्रण गर्नेगरी काम गर्न अनुरोध गरेका छन्।
कतिपय निजी क्षेत्रमा समेत वैदेशिक लगानीको लागि अवरोध सिर्जना भएको गुनासो सुनिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले सरकार निरन्तर औद्योगिक पूर्वाधार विस्तारमा लागेको बताउँदै लगानी गर्न र विदेशी लगानीलाई आमन्त्रण गर्न आग्रह गरेका हुन्।
'विशेष आर्थिक क्षेत्र लगायत औद्योगिक पूर्वाधार निर्माणमा सकरात्मक उपलब्धि हासिल हुँदै गएका छन्। एकपछि अर्को सुधारको काम अघि बढाइएको छ,' शुक्रबार नेपाल उद्योग परिसंघको २० औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'निजी क्षेत्रलाई पनि वैदेशिक लगानी आमन्त्रण गरी ल्याउने दिशामा काम गर्न अनुरोध गर्दछु।'
प्रधानमन्त्री प्रचण्डले पुँजीगत खर्चको सामार्थ्य बढाउन सरकार केन्द्रित रहेको समेत बताए। उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको संरचनागत सुधारमा सरकार केन्द्रित भएको बताएका छन्।
सरकार र निजी क्षेत्रबीच बलियो एकताले समृद्धिको आकांक्षा पूरा हुने भन्दै आगामी दिनमा दुई पक्षबीच थप प्रभावकारी सहकार्य गरिने बताए।
अहिले विदेशबाट सामान ल्याउने र कतिपय उद्योगले जनशक्ति पनि विदेशबाट नै लिएर यहाँ उत्पादन बढाउने गरेको भन्दै नेपाली कच्चा पदार्थमा आधारित उद्योग विकास सरकारले चाहेको उनको भनाइ छ।
कृषि, वन, जडीबुटी, पानी लगायतका क्षेत्रबाट उत्पादन बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री प्रचण्डले बताए।