अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरू गरेको छ।
बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको हो।
अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे।
डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्य योजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिएका छन्। उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी सुरू गर्न समेत निर्देशन दिएका छन्।
'बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ, त्यो कार्यान्वयन हुन्छ,' उनले कार्यक्रममा बोल्दै भने।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ र मुख्य सचिव बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।