गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेश सभामा उक्त रकम बराबरको बजेट तथा कार्यक्रम पेश गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्षको भन्दा कम छ। चालु आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम घोषणा गरिएको थियो।
सरकारले दिने अनुदान रकम घटेकाले आगामी वर्षको बजेटको आकार पनि घट्न पुगेको मन्त्रालयले जनाएको छ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा चालु खर्चका लागि १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार विनियोजन गरिएको छ। जुन कुल विनियोजित बजेटको ३८.१ प्रतिशत छ।
यस्तै, पुँजीगत खर्चका लागि २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन गरिएको छ। जुन कुल विनियोजित बजेटको ६०.४ प्रतिशत छ।
वित्तीय व्यवस्थााका लागि ५० करोड रुपैयाँ अर्थात् कुल बजेटको १.५ प्रतिशत रकम विनियोजन गरेको अर्थमन्त्री आलेले बताए।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारले वित्तीय व्यवस्थाको अनुमान पनि प्रदेश सभामा पेश गरेको छ। जसमा नेपाल सरकारले दिने समानीकरण अनुदानमार्फत् ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानबाट ४ अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ७० करोड प्राप्त हुने प्रदेश सरकारले अनुमान गरेको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार उठाउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षको बजेटबाट खर्च हुन नसकेको मौज्दात रकम ३ अर्ब रहने अर्थमन्त्री आलेले बताए।
आगामी आर्थिक वर्षको बजेटमा अनुमान गरिएका आम्दानीबाट नपुग १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट पूरा गर्ने मन्त्री आलेले बताए।