पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले विगतमा अधिक कर्जा लगानीले तातेको अर्थतन्त्र सेलाइ नसकेको भन्दै अहिले विस्तारकारी मौद्रिक नीति नल्याउन सुझाएका छन्।
म्यानेजमेन्ट एसोसिएसनले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी पूर्व छलफल कार्यक्रममा खतिवडाले उक्त सुझाव दिएका हुन्।
उनले बैंकहरू अहिले पनि अधिक पुँजीकरणकै अवस्थामा रहेकाले कुनैपनि बहनामा पुँजी बढाउन दिन नहुने बताए।
'१२ प्रतिशतको कर्जा वृद्धि भए ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ, यसअघि नै धेरै कर्जा लगानी भएको छ, अब धेरै बढाउनु पर्ने देखिदैन,' उनले भने।
उनले कर्जाको प्रवाह सम्पत्ति निर्माणमा मात्रै हुने गरी नभई आम्दानी वृद्धि हुने क्षेत्रमा प्रवाह गर्न जोड दिए। सट्टेवाजी क्षेत्रमा लगानी दिएर ऋणीलाई कहिले नपुग्ने भन्दै उनले यस्तो कर्जा लगानीमा जोड दिन नहुने बताए।
खतिवडाले बैंक र व्यवसायी छुट्याउने समय आएको भन्दै व्यवसायी समेत रहेका बैंकरलाई छुट्याउन १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न दिनु सही हुने बताए।
उनले मुद्दती निक्षेपको ब्याज एकल बिन्दुमा राख्नुपर्ने भए पनि सामान्य बचतमा धेरै चलाउन नहुने र प्राइम कर्जाको ब्याजदर १२–१३ प्रतिशतमा सीमित पार्नुपर्ने बताए।
उनले कर्जा र निक्षेपको ब्याजदर अन्तर स्प्रेड रेट ४ प्रतिशतभंन्दा कम गर्नु नपर्ने, निश्चित क्षेत्रमा पुनर्कर्जा दिन सकिने, लघुवित्त नियमनमा दरिलो हुनुपर्ने लगायतका सुझाव दिएका छन्।