सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ।
मंगलबार बसेको दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको दशौं बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
प्रदेश प्रमुख देवराज जोशीले जेठ २४ गते प्रदेश सभामा सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले जेठ २५ गते सो नीति तथा कार्यक्रम सभामा टेबुल गराएका थिए। त्यसपछि जेठ २६, २८ र ३० गते गरी तीन पटक बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।
छलफलका क्रममा सत्ता पक्षका सांसदहरूले नीति तथा कार्यक्रम समय सान्दर्भिक भएको, कोभिड महामारी र आर्थिक मन्दीले प्रभावित हुनुपरेको र केही विषय छुटेकाले सरकारले समेट्नुपर्ने धारणा राखेका थिए।
प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम कर्मकाण्ड भएको, नागरिकका अपेक्षा समेट्न नसकेको र सरकारको अनुभवको कमी देखिएको भन्दै आलोचना गरेका थिए।
मंगलबार दिउँसो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए।
प्रतिपक्षका सांसदहरूले असमर्थन जनाए पनि सत्तापक्षले समर्थन गरेपछि आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख भण्डारीले घोषणा गरे।
सुदूरपश्चिम सरकारलाई प्रदेश सभाका सभामुख बाहेकका ५२ मध्ये ४१ सांसदको समर्थन छ।
‘हुन्छ भन्ने माननीय सदस्यहरूभन्दा हुन्न भन्ने माननीय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारीले भने।