अर्थमन्त्री प्रकाशशरण महतले साँवा ब्याजको भुक्तानी दायित्व बढ्दै गएको कारण आगामी वर्षमा पुँजीगत खर्च कम विनियोजन भएको बताएका छन्।
बजेटमाथिको छलफल कार्यक्रममा उठेको प्रश्नको प्रतिनिधि सभामा उत्तर दिँदै उनले यस्तो बताएका हुन्।
पुँजीगत बजेट बढाउँदै जानुपर्ने भए पनि स्रोत साधनको कारणले गर्दा चालु वर्षको तुलनामा २१ प्रतिशत कम पुँजीगत खर्च विनियजन गरिएको उनले बताए।
'पूर्व पश्चिम ठूला परियोजनामा बजेट घटाइएको छैन, तर साना परियोजनामा पनि बजेट किन छुट्याइएन भन्ने चिन्ता छ' अर्थमन्त्री महतले भने 'चालु खर्चमा सामाजिक सुरक्षा लगायातका अनिवार्य दायित्वको विषय काट्न सकिएन, साँवा ब्याजको दायित्व पनि बढी भएको कारण पुँजीगत खर्च कम भएको हो।'
उनले प्रदेश र स्थानीय तहमा जाने बजेटमा गत वर्षको भन्दा ५ अर्ब रूपैयाँ मात्रै कम भएको बताए। प्रधानमन्त्री अर्थमन्त्री र पूर्व प्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट नगएको उनको जिकिर छ।
खर्च कटौतीका सवालमा डिल्लिराज खनाल आयोगको प्रतिवेदनलाई अध्ययन गरेर खर्च घटाउने प्रयास गरिएको उनले बताए।