सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानबाट ६ अर्ब १६ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ।
४४ सार्वजनिक संस्थामा सेयर र ऋण गरेर ६ खर्ब १८ अर्ब लगानी रहेकोमा मात्रै एक प्रतिशत बराबर लाभांश प्राप्त गरेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सार्वजनिक संस्थानसम्बन्धी समीक्षा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। सञ्चालनमा रहेका ४४ मध्ये २५ वटा मात्रै नाफामा छन्।
विगतमा सार्वजनिक संस्थाले मुलुकको आर्थिक, सामाजिक विकासमा योगदान गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन र व्यवस्थापनमा समस्या रहेको अर्थमन्त्री महतले बताए।
संस्थानहरूको कोषमा व्यवस्था नभएको दायित्व २०.३ प्रतिशतले घटेको छ।
सञ्चालन आय ३६.२ प्रतिशतले बढेर ५ खर्ब ७५ अर्ब रूपैयाँ पुगेको छ।
'प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिने र सार्वजनिक रुपमा राखिरहन आवश्यक नभएकाहरूको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनको लागि निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको छ,' महतले बताए।
सार्वजनिक क्षेत्रमै रहन आवश्यक देखिएकाहरूको पनि संरचनात्मक सुधारको खाँचो भएको उनले बताए।