आफ्नै उमेरका अरू केटाकेटी घरबाट स्कुल र स्कुलबाट घर गइरहँदा नारायण श्रेष्ठले भने पढाइ सँगसँगै काम गर्न थालिसकेका थिए।
उनले काठमाडौंका रेस्टुरेन्टमा कुकको काम सुरू गर्दा उमेर जम्मा १२ वर्ष थियो।
स्कुलको पढाइ सकेर उनी सरासर रेस्टुरेन्ट जान्थे र साँझको पूरा समय विभिन्न थरीका खानेकुरा बनाउँथे।
सानै उमेरबाट कुकिङलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाएका नारायणले सात–आठ वर्ष काठमाडौंका विभिन्न रेस्टुरेन्टमा काम गरे।
यसले उनको पकाउने सिप मात्र तिखारिएन, बजारमा कुन–कुन खानाको माग बढी छ, ग्राहक खुसी पार्न के गर्नुपर्छ, बहुसंख्यक ग्राहक कस्तो स्वाद मन पराउँछन् भन्ने व्यावहारिक ज्ञान पनि उनले सिके।
साथीहरू स्कुल सकेर के पढ्ने भन्ने ध्याउन्नमा हुँदा नारायणले आफ्नो भविष्यको बाटो रोजिसकेका थिए।
उनले रोजेको बाटो थियो — रेस्टुरेन्ट व्यवसाय।
२०६१ साल कात्तिक महिनाबाट नारायणले आफ्नै रेस्टुरेन्ट खोले। दुई दशकभन्दा बढी समयदेखि उनी सफलताका साथ आफ्नो व्यवसाय चलाइरहेका छन्। र, आफ्नो कामबाट खुसी छन्, सन्तुष्ट पनि छन्।
उनी खुसी र सन्तुष्ट यस कारण छन्, किनभने दायरा सानो भए पनि उनको व्यवसाय आफ्नो ठाउँमा लोकप्रिय छ। संख्या थोरै नै किन नहोस्, दुई दशकको अथक मिहिनेतबाट उनले केही नियमित ग्राहक कमाएका छन्। र, धेरै ठूलो व्यापारी बन्न नसके पनि थोरबहुत नाम र दाम दुवै कमाएका छन्।
के तपाईंले महाराजगन्जको 'नारायण तन्दुरी एन्ड भोजनालय' मा तन्दुरी नानको स्वाद चाख्नुभएको छ?
छैन भने एकपल्ट अवश्य जानुहोला।


दुई दशकको अनुभवले हुनसक्छ, उनको हातको स्वाद धेरैले रूचाएका छन्। त्यही भएर एकचोटि उनको रेस्टुरेन्टको स्वाद चाख्नेहरू फर्की फर्की आउँछन्।
नारायणले यो रेस्टुरेन्टको सुरूआत दुई लाख रूपैयाँ लगानीबाट गरेका थिए। सुरूमा उनले साकाहारी (भेज) मःम मात्र बेचे।
'प्रायः रेस्टुरेन्टमा चिकेन र बफ मःम बेचिन्छ। भेज म:म मात्र पाइने रेस्टुरेन्ट कमै हुन्छन्। त्यही भएर मैले अलि फरक तरिकाले भेज म:म बनाउने निर्णय गरेँ,' नारायणले भने।
उनको निर्णय सही साबित भयो।
म:म व्यापार सुरूआती दिनबाटै खुब चम्कियो। केही वर्षमै उनले तन्दुरीसहित विभिन्न परिकार थपे र सानो म:म पसललाई भोजनालयको रूप दिए।
'सानैदेखि विभिन्न रेस्टुरेन्टमा काम गरेको अनुभवले मलाई आफ्नो व्यवसाय चलाउन सजिलो भयो,' उनले भने, 'अर्काको रेस्टुरेन्टमा काम गरेर मैले विभिन्न थरीका परिकार बनाउन जानेको थिएँ। त्यही सिप आफ्नो व्यवसायमा प्रयोग गरेँ।'
हातमा सिप छ र काम गर्ने जाँगर छ भने मान्छेले जस्तोसुकै परिस्थितिलाई जित्न सक्छ र सफलताको बाटो समात्न सक्छ। नारायण यसका एक ज्वलन्त उदाहरण हुन्।
उनी अहिले ४६ वर्षका भए। रेस्टुरेन्टको कमाइबाटै उनले एक छोरा र एक छोरी राम्ररी पढाएका छन्। छोरी विदेशमा सिए पढ्दै छिन् भने छोरा १२ कक्षा पढ्दै छन्। छोरीले होटल व्यवस्थापन पनि पढेकीले रेस्टुरेन्ट सञ्चालनसँग जोडिएका विभिन्न विषयमा बाबुलाई सल्लाह दिने गर्छिन्।
नारायणले समय क्रममा आफ्नो रेस्टुरेन्टलाई नियमित विस्तार गर्दै आएका छन्। बिहान नास्तादेखि खाना र दिउँसोको खाजादेखि बेलुकीको खानासमेत उनको मेनुमा समावेश छ। यहाँ तन्दुरीबाहेक नेवारी खाजा सेट पनि खुबै लोकप्रिय छ।
चिकेन र बफ खाना सेटको मूल्य १६० रूपैयाँ पर्छ भने मटन खाना सेट २५० पर्छ। त्यस्तै, चिकेन र बफ नान ९० रूपैयाँ, बटर नान ५०, सादा नान ४०, पनिर नान १३०, आलु नान ६० र चिज नान १५० रूपैयाँ पर्छ।


उनले नान बनाउने तरिका पनि हामीलाई सुनाए।
'मैदाको पिठोमा मसला हालेर किमा राखिन्छ। त्यसलाई गोलो आकार दिएर तताएको घ्याम्पोभित्र टाँसिन्छ। अनि चार–पाँच मिनेटमै नान तयार हुन्छ,' उनले भने, 'घ्यूको स्वादले यहाँको नान धेरै जना रूचाउनुहुन्छ।'
उनको रेस्टुरेन्टमा सबभन्दा लोकप्रिय परिकार किमा नान हो। दैनिक तीन–चार किलोसम्म किमा प्रयोग हुने उनले बताए।
यहाँ करिब ८० प्रतिशत ग्राहक पुरानै छन्। कतिपय ग्राहक त २० वर्षदेखि लगातार आइरहेका छन्।
'बीचमा विदेश गएकाहरू पनि फर्केर आएपछि 'नारायण दाइ, तपाईं अझै यही हुनुहुन्छ!' भन्दै मलाई भेट्न आउँछन्,' उनले भने।
यसरी पुराना ग्राहक नियमित आउनु र विदेश गएकाहरू पनि खोजी खोजी आउनुले नारायणलाई 'जिन्दगीमा मान्छे राम्रै कमाइएछ' भन्ने अनुभव हुन्छ।
'मान्छेले जे गरे पनि उसको कामबाट अरू खुसी हुनुपर्छ। रेस्टुरेन्ट व्यवसायमा त झन् मान्छेलाई खुसी नपारी सुखै छैन,' उनले भने, 'पछिल्लो २२ वर्षदेखि म यो काम गर्दैछु। मान्छेहरू मेरो हातको नान खान फर्की फर्की आउँछन्। भोकाएर आउँछन्, अघाएर जान्छन्। खुसी हुन योभन्दा अरू के चाहियो?'
नियमित आइरहने ती ग्राहकको नाम, उनीहरूको अर्डर र रूचाउने स्वादसमेत नारायणलाई कन्ठै छ। धेरैजसोलाई सोधिरहन पनि पर्दैन।

पछिल्लो समय टिकटक लगायतका सामाजिक सञ्जालमा उनको किमा नान चर्चित भएपछि नयाँ ग्राहक आउने क्रम पनि बढेको छ। सामाजिक सञ्जालमा किमा नानको भिडिओ हेरेर विभिन्न ठाउँका मान्छे खोज्दै आउने गरेको उनी बताउँछन्। वरपरका घर, पसल र अफिसमा डेलिभरी पनि गरिन्छ।
पहिले यहाँ आठ–नौ जना कर्मचारी थिए। अहिले पाँच जना मात्र छन्। श्रीमतीले पनि रेस्टुरेन्टको काममा नियमित सहयोग गर्न थालेको उनले बताए।
बिहान ८ देखि राति ८ बजेसम्म सञ्चालन हुने यो रेस्टुरेन्ट शनिबार भने बन्द हुन्छ। दैनिक आम्दानी १५ देखि २५ हजार रूपैयाँसम्म हुने उनले जानकारी दिए।
दुई दशकभन्दा बढी समयदेखि रेस्टुरेन्ट चलाएका र आफ्नो क्षेत्रमा लोकप्रिय पनि भइसकेका नारायणलाई मैले सोधेँ, 'अहिले त विभिन्न ठाउँमा रेस्टरेन्टको शाखा खोल्ने चलन छ। तपाईंको चाहिँ नयाँ शाखा खोल्ने विचार छैन?'
जबाफमा उनले भने, 'यहाँ भान्साको काम सबै मै हेर्छु। नयाँ ठाउँमा शाखा खोलेँ भने आफै गएर भान्सा सम्हाल्न भ्याइन्न। यसले खानाको गुणस्तरमा सम्झौता हुनसक्छ। त्यसैले अहिलेलाई शाखा खोल्ने कुनै योजना छैन।'
'मसँग जे छ, जति छ; त्यसैमा म खुसी छु, सन्तुष्ट छु,' उनले भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***






