चालु आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा आयात १६.७८ प्रतिशतले घटेको छ।
गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात हुँदा यस वर्ष १३ खर्ब ३५ अर्ब रूपैयाँ बराबरको आयात भएको हो।
मासिक रूपमा समेत आयात घटेको छ।
चैत एक महिनामा मात्रै एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएकोमा वैशाखमा यसमा ६.५० प्रतिशतले कमी आएको हो। वैशाख एक महिनामा मात्रै एक खर्ब ३३ अर्ब रूपैयाँको आयात भएको हो।
साउनदेखि वैशाखसम्मको यो अवधिमा निर्यात पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.४९ प्रतिशतले घटेको छ। गत वर्षको साउनदेखि वैशाखसम्ममा एक खर्ब ७३ अर्ब रूपैयाँको निर्यात भएकोमा यसपटक भने एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ।
वैशाखमा आयात घटेसँगै मुलुकको व्यापार घाटा पनि साघुरिएको छ।
साउनदेखि चैतसम्ममा १७ प्रतिशत रहेको व्यापार घाटा वैशाखसम्ममा आइपुग्दा १५.८५ प्रतिशतमा सीमित भएको छ। गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा १४ खर्ब ३१ अर्ब व्यापार घाटा रहेकोमा यस वर्षको यही अवधिमा १२ खर्ब ४ अर्ब रूपैयाँ छ।
गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात भएकोमा यस वर्ष ५ लाख ५९ हजार लिटर पेट्रोल आयात भएको छ।
तर, पेट्रोलियम पदार्थको मूल्य बढेको कारण लागत पनि बढेको छ।
गत वर्षको यो अवधिसम्म ५४ अर्ब ८३ करोड बराबरको पेट्रोल आयात भएकोमा यस वर्ष ५५ अर्ब ७९ करोड बराबरको आयात भएको हो।
जेठमा भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएकोले क्रमिक रुपमा यसमा समायोजन हुँदै जाने देखिन्छ।
आयात र निर्यात दुवै घटेसँगै सरकारले भन्सार बिन्दुमा उठाउने राजस्वमा समेत कमी आएको छ।