राष्ट्रपति रामचन्द्र पौडेलले हुम्लालाई सडक सञ्जाल जोड्ने विषयलाई सरकारको तर्फबाट प्रतिबद्धता गरेका छन्।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले हुम्लालाई सडक सञ्जाल जोड्ने बताएका छन्। उनले भनेका छन्, 'आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ।'
उक्त प्रतिबद्धता आर्थिक वर्ष २०७१/७२ पछि नौ वटा सरकारका नीति तथा कार्यक्रम र नौ वटा बजेटमा नै दोहोरिँदै आएको छ।
सरकारको प्राथमिकता भने २०६४ देखि नै छ। पहिलोपटक २०६४ मा अन्तरिम त्रिवर्षीय योजनामा हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने विषयमा समेटिएको थियो। त्यसको लक्ष्य २०६७ मा सम्पन्न गर्ने थियो।
२०७१/७२ को नीति तथा कार्यक्रमबाट यो विषय कहिले छुटेकै छैनर। ‘हुम्ला र डोल्पा जिल्लाका सदरमुकामलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ,’ यो आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रममा गरिएको सम्बोधन हो।
सरकारले सडक सञ्जाल पुर्याउने भनेर ११ वर्ष अगाडि नै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी कर्णाली कोरिडोरको योजना अघि सारेको थियो। घोषणा गरेको ११ वर्ष बित्दा पनि सडक पुग्न सकेको छैन।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत २०६५/६६ मा कर्णाली कोरिडोरको योजना अघि सारिएको हो। १३ वर्षसम्म पनि सरकारले हुम्ला जिल्लालाई भने सडक सञ्जालसँग जोड्न सकेको छैन।