राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मुलुकसँग हवाइ सेवा सम्झौता गरिने योजना रहेको बताएका छन्।
उनले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताएका हुन्।
हाल गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित उडान भने हुन सकेको छैन।
निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने उल्लेख नीति तथा कार्यक्रममा गरिएको छ।