सरकारले पुनः तयारी पूरा भएका आयोजनामा मात्रै रकम विनियोजन गर्ने प्रतिवद्धता गरेको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तयारी पूरा भएका आयोजनामा मात्रै रकम विनियोजन गर्ने प्रतिवद्धता गरेका हुन्।
'विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिने छ, आयोजना तयारीका सम्पूर्ण तयारी सकिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ' राष्ट्रपतिको सम्बोधनमा भनिएको छ।
विगतका वर्षहरूमा पनि यस्तै प्रतिवद्धता गरिएको थियो। तर राजनीतिक दबाबले तयारी नै पूरा नगरिएका आयोजनामा बजेट विनियोजन गर्दा पुँजीगत खर्चमा समस्या देखिएको छ।
पुराना आयोजनामा बजेट विनियोजन नगर्ने र नयाँ र तयारी नभएका आयोजनामा बजेट छुट्याउने परिपाटीले सरकारको दायित्व बढ्दै गएको अर्थका अधिकारीहरूको भनाइ छ।
हाल सरकारसँग विगतमा अघि बढाइएका आयोजनाको दायित्व नै ४ खर्ब रुपैयाँ माथि पुगेको छ। कति आयोजनाहरू तयारी पूरा हुन नसकेको कारण अझै अघि बढ्न सकेका छैनन्।