नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन्।
नवनिर्वाचित पदाधिकारीसँगको एक भेटघाट कार्यक्रममा डा. महतले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरूमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस गरेको बताए।
'तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं। केही अप्ठ्यारा र व्यवधान छन्। सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ,' उनले भने।
महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ। उनले महासंघ देशको अर्थ व्यवस्थाबारे जानकार भएको आशा व्यक्त गर्दै समस्याको समाधान गर्न पहल गर्न बताए।
उनले भने, 'यो अप्ठ्यारोमा एक-अर्कालाई सहयोग गर्ने समय हो। सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन। अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ।'
अर्थमन्त्रीका अनुसार अहिले सरकारले अपेक्षित ढंगमा काम गर्न सकिरहेको छैन। नीतिगत रूपमा धेरै कुराकानी भएतापनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको उनी बताउँछन्।
उनले आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादम्य नहुँदा कतिपय समस्या सिर्जना भएको समेत बताए। उनले थप भने, 'बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्याे। तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गयौं, परिवेश र वास्तविकता अर्कोतिर थियो।'
यस्तो अवस्थामा यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सकिन्छ भन्ने अहिलेको परिवेशमा महत्वपूर्ण भएको उनले बताए।
यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको समेत बताए। उनले अब आर्थिक सूचांक सकरात्मक हुने बताए।
'अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ। उनीहरूको सल्लाह-सुझावमा पुराना नीतिहरू समय सापेक्ष बनाउने पहल गरिएको हो,' उनले कार्यक्रममा बोल्दै भने।
उनका अनुसार मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार छ। ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको थियो। अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ। यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्नेमा उनी सकारात्मक रहेको समेत बताए।