किमाथांका जलविद्युत आयोजनाको निर्माण मोडल अझै टुंगो लाग्न सकेको छैन।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गतअगाडि बढाइएको ४५४ मेगावाट क्षमताको यो आयोजनाका लागि करिब ९३ अर्ब रूपैयाँ लागत अनुमान छ। यसमा कुल लगानीमध्ये ३० प्रतिशत जनताको लगानी रहन्छ। बाँकी कुन लगानी मोडलमा आयोजना अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको विद्युत उत्पादन कम्पनीका म्यानेजिङ डाइरेक्टर सूर्यप्रसाद रिजालले जानकारी दिए।
'निर्माणमा जान भरपर्दो लगानीको स्रोत जुटिसकेको छैन। विभिन्न निकायसँग छलफलकै चरणमा छौं,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार यो आयोजनामा लगानीका तीन वटा मोडल छन्।
पहिलो, आयोजनाका लागि सरकारसँग बजेट माग गर्ने।
दोस्रो, नेपालकै विभिन्न बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर लगानी गर्ने।
र, तेस्रो विदेशी कम्पनीहरूसँग ज्वाइन्ट-भेन्चरमा लगानी गर्ने।
यीमध्ये कुन मोडलको लगानीमा निर्माण थाल्ने भन्ने विषयमै टुंगो नलागेको रिजालको भनाइ छ।
'अहिलेसम्म कुनै मोडलका लागि पनि स्रोत जुटिसकेको छैन। जुनमा स्रोत जुट्छ, त्यही मोडलमा निर्माण गर्ने भन्ने हो,' उनले थपे।
निर्माण सामग्री पुर्याउन असहज हुँदा यो आयोजनाको परीक्षण सुरूङ निर्माणको काम पनि रोकिएको छ।
पावर हाउससम्म पुग्न प्रयोग गरिने परीक्षण सुरूङ गत भदौ २ गतेदेखि खन्न थालिएको थियो। आयोजना प्रमुख हिरामान वाइबाका अनुसार गत कात्तिकमा एक सय २५ मिटर सुरूङ खनिएको थियो। त्यसयता निर्माणका लागि आवश्यक सामग्री नपुग्दा काम रोकिएको छ।
निर्माण सामग्री लैजान हेलिकप्टरबाहेक विकल्प नहुँदा पनि लामो समयदेखि काम रोकिएको उनले बताए।
वाइबाका अनुसार परीक्षण सुरूङ करिब एक हजार मिटर खन्नुपर्छ। यसअघि पनि विस्फोटक पदार्थ अभावमा लामो समय काम रोकिएको थियो। कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट सात टन विस्फोटक पदार्थ सापटी लिई उक्त काम सुरू गरिएको थियो।
अब भने विस्फोटक पदार्थको समस्या नहुने उनले बताए। निर्माण सहज हुँदा यो सुरूङ एक वर्षभित्र सकिने आयोजनाले बताएको छ। भ्याटसहित १५ करोड रूपैयाँ लागतमा परीक्षण सुरूङको काम सकिने उल्लेख छ।
तर आयोजनास्थल निकै दुर्गम ठाउँमा भएकाले कतिपय कठिनाइ झेल्नुपरेको आयोजना प्रमुख वाइबाको भनाइ छ।
'आयोजना निकै राम्रो छ। तर दुर्गम ठाउँमा छ। मुख्य समस्या बाटोकै छ जसले गर्दा पहुँच सहज छैन,' वाइबाले भने।
निर्माण सामग्री लैजान लामो समय लाग्दा लक्षित अवधिमा परीक्षण सुरूङ निर्माणको काम सक्न मुश्किल पर्ने देखिन्छ। परीक्षण सुरूङपछि मुख्य निर्माणको कामका लागि प्रक्रिया अगाडि बढ्ने उल्लेख गरिएको छ। लगानी मोडलको टुंगो लागेपछि मुख्य निर्माण अघि बढ्ने छ। मुख्य निर्माणको काम सुरू भएको पाँच वर्षभित्र आयोजना निर्माण सक्ने लक्ष्य छ।
अरूण नदीको पानीबाट विद्युत उत्पादन गर्ने यो आयोजनाको काम सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी मातहत भइरहेको छ। यसको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि आयोजनाले पाइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अघि बढेको आयोजनाले बताएको छ।
चीनको सिमाना नजिकै पर्ने यो आयोजनाको बाँध २० मिटर अग्लो हुनेछ। मुख्य सुरूङ ६.३ किलोमिटर हुने उल्लेख छ। ३६० मिटर उचाइबाट पानी खसालेर ४५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।
यसबाट हिउँदमा अर्थात् सुख्खा याममा १०५१.१३ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ। त्यस्तै सिजन (वर्षायाम) मा १८७३.५६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। वार्षिक कुल २९२४.६९ गिगावाट आवर विद्युत उत्पादन हुने लक्ष्य लिइएको छ।