राष्ट्रिय गौरवका आयोजनाहरूमा ६ महिनामा कुल १५ अर्ब आठ लाख खर्च भएको छ।
चालु आर्थिक वर्षको ६ महिनामा चालुतर्फ ८० करोड ७९ लाख, पुँजीगततर्फ १४ अर्ब पाँच करोड १६ लाख र वित्तीय व्यवस्थातर्फ १४ करोड १३ लाख गरी जम्मा १५ अर्ब आठ लाख खर्च भएको हो।
चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरूका लागि चालुतर्फ तीन अर्ब ५७ करोड ७९ लाख बजेट विनियोजन गरिएको थियो। त्यस्तै पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख बजेट विनियोजन गरिएको थियो। र, वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड गरी कुल ९८ अर्ब ९७ करोड ६४ लाख विनियोजन गरिएको थियो।
आइतबार प्रतिनिधि सभामा सार्वजनिक भएको मध्यावधि समीक्षा प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका आयोजनामा १५.१६ प्रतिशत खर्च भएको हो।
सरकारले मुलुकको आर्थिक-सामाजिक रूपान्तरणमा सघाउ पुर्याउने रणनीतिक महत्वका २४ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ। जसमा उर्जा, सिँचाई खानेपानी सडक, पर्यटन वन क्षेत्र छन्।
राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सकिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गत जेठबाट व्यवसायिक उाडन सुरू भएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट सकिएको छ। यहाँ हाल आन्तरिक तर्फको उडान सञ्चालन छ। पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरू हुन सकेको छैन।
त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ। अन्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेको उल्लेख गरिएको छ।
पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ प्रतिशत भएको थियो। यो सडक कुल १,८७९ किलोमिटर (किमी)मध्ये १,२५९ किमी कालोपत्रे भएको छ। १,३७ पुल बनाउनुपर्नेमा ९३ वटा पुल निर्माण गरिएको छ। त्यस्तै हुलाकी राजमार्ग कुल १,७९२ किमीमध्ये हालसम्म ८९१ किमी कालोपत्रे सम्पन्न गरिएको छ।
२१९ कुल पुलमध्ये ११५ पुल निर्माण सकिएको छ। पुस मसान्तसम्म यो सडकको भौतिक प्रगति ४२.६० प्रतिशत सकिएको छ।
त्यस्तै कोशी करिडोरको (संखुवासभावदेखि किमाथांका) सम्म भौतिक प्रगति ३९ प्रतिशत भएको छ। यसको कुल १६२ किमीमध्ये १५० किमी ट्र्याक खुलेको छ। यो सडक खण्डमा हालसम्म ८ वटा पुल निर्माण गरिएको छ। १२ किमी सडकको ट्र्याक खोल्ने काम भइरहेको उल्लेख गरिएको छ।
कालीगण्डकी करिडोर (गैडाकोट राम्दी मालढुंगा) को भौतिक प्रगति २२ प्रतिशत भएको छ। यो सडकमा कुल २४५ किमीमध्ये २४४ किमी ट्र्याक खुलेको छ।
त्यस्तै कालीगण्डकी करिडोरको बेनी-जोमसोम कोरोला खण्डको कुल १९९ किमीमध्ये सबै ट्र्याक खुलेको छ। १६० किमी ग्राभेल भएको छ। २० किमी कालोपत्रे भएको छ।
कर्णाली करिडोर २६८ किमीमध्ये ट्र्याक खोल्ने काम पूरा भइसकेको छ। मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाको काम कुल ५२.५ किमी ट्र्याकवेड निर्माण भएको छ। पाँच वटा पुलहरू निर्माण भएका छन्।
काठमाडौं, तराई मधेस द्रुतमार्ग ७२.५ किमीमध्ये काम भइरहेको उल्लेख गरिएको छ। यसको पुस मसान्तसम्मको भौतिक प्रगति ९.११ प्रतिशत छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ। पशुपति क्षेत्र विकास कोषको मृगस्थली भूक्षय नियन्त्रण दोस्रो चरणको काम सकिएको छ। आर्यघाट, गोरखनाथ, गुहेश्वरी, दर्शनमार्ग स्तारोन्नतीको काम सकिएको छ।
लुम्बिनी विकास कोष अन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्रको गुरूयोजनाको अवधारणा तयार भएको छ।
बबई सिँचाई आयोजनाको हेडवर्कस् निर्माण सकिएको छ। ३.१ किमी मुल नहर निर्माण सकिएको छ। महाकाली सिँचाई आयोजनाको ऐलानी जग्गा अधिग्रहण सकिएको छ। मुल नहर १२.७ देखि २८.८ किमी निर्माण भइरहेको छ।
सिक्टा सिँचाई आयोजनाको पुस मसान्तसम्मको भौतिक प्रगति २०.४६ प्रतिशत छ। यसको पूर्वी मुल नहरको र पश्चिमतर्फ शाखानहर निर्माणको काम भइरहेको छ।
रानी जमरा कुलरिया सिँचाई आयोजनामा गेट जडानको कार्य सकिएको छ। त्यस्तै पावर हाउसको करिब ९५ प्रतिशत काम सकिएको छ।
भेरी बबई डाइभर्सन बहु-उदेश्यीय आयोजनाको पावर हाउस निर्माण काम भइरहेको छ। हाइड्रोमेकानिकल निर्माण कार्यको सम्झौता सकिएको छ।
सुनकोशी मरिन डाइभर्सन बहु-उदेशीय आयोजनाको सुरूङ निर्माणको खरिद काम सकिएको छ। हेडवर्कस् पावरहाउस इन्जिनियरिङ डिजाइन काम सकिएको छ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत तालतलैया सिमसार संरक्षण तथा व्यवस्थापन ४० वटा गल्छी, पहिरो खहरे रोकथाम भएको छ। त्यस्तै ९.१० किमी नदी तथा खोला किनारा स्थिरिकरण ३० हजार विरूवा उत्पादन खरिद सकिएको छ। त्यस्तै ९०.२० हेक्टरमा कृषि, वन प्रणाली प्रवद्र्धन गरिएको छ।
मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् निर्माण ७० प्रतिशत सकिएको छ। अस्थायी रूपमा पानी वितरण थालिएको छ।
मिलेनियम च्यालेन्ज एकाउन्ट अन्तर्गत प्रारम्भिक इन्जिनियरिङ डिजाइनको काम सकिएको छ। रातमाटे सबस्टेशनका लागि जग्गा अधिग्रहण गरिएको छ। सडक मूल्यांकन सर्वेक्षण गरिएको छ।
सरकारले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका आयोजनाहरूमा सम्पन्न कामको भुक्तानी गर्न स्रोत अभाव नहुने व्यवस्था गर्ने घोषणा गरेको छ। यस्ता आयोजनाबाट अन्य कार्यक्रममा रकमान्तर कार्यक्रम संसोधन प्रस्ताव र स्वीकृत नगर्ने उल्लेख गरिएको छ।