चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मका लागि सरकारले लिएको लक्ष्यभन्दा एक खर्ब २३ अर्ब रूपैयाँ कम राजस्व उठेको छ।
सरकारले यो अवधिमा चार खर्ब ३१ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। तर तीन खर्ब सात अर्ब रूपैयाँ मात्र उठेको छ। यो लक्ष्यको ७१ प्रतिशत मात्रै हो।
आन्तरिक विभाग र भन्सार विभागको तथ्यांक अनुसार लक्ष्यभन्दा कम राजस्व उठेको देखिएको हो।
सरकारले भन्सार नाकामा भन्सार शुल्कसहित मूल्य अभिवृद्धि र अन्तःशुल्क समेत उठाउँछ।
भन्सार विभागबाट मात्रै चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल दुई खर्ब ५७ अर्ब रूपैयाँ उठाउने लक्ष्य थियो। तर यो पनि एक खर्ब ५७ अर्ब रूपैयाँ मात्र उठेको छ। यो लक्ष्यको ६१ प्रतिशत मात्र हो।
मंसिर एक महिनामा मात्रै भन्सार विभागबाट ५५ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य थियो। तर २८ अर्ब रूपैयाँ मात्र उठेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए।
सरकारले निरूत्साहन गरेअनुसार आयात घटेसँगै भन्सारबाट असुली हुने राजस्व पनि कम भएको हो। पछिल्लो तथ्यांक अनुसार कात्तिकमा आयात १८.०८ प्रतिशतले घटेर पाँच खर्ब ३२ अर्ब रूपैयाँमा सीमित भएको छ।
त्यस्तै आन्तरिक राजस्व विभागले साउनदेखि मंसिर एक खर्ब ७४ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। तर एक खर्ब ५० अर्ब रूपैयाँ मात्रै राजस्व असुली भएको छ। यो लक्ष्यको ८६.३७ प्रतिशत हो।
यो अवधिमा आन्तरिक राजस्व विभागले आय कर (घरबहाल कर, ब्याज कर र पुँजीगत लाभकरसहित), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर र शैक्षिक कर उठाउँछ। आन्तरिक राजस्व विभागको मासिक असुली लक्ष्यको ७७.४९ प्रतिशत मात्र छ।
विभाग मातहत उठाइने करमा पनि वार्षिक ३ प्रतिशतले कमी आएको छ। गत वर्ष विभागले एक खर्ब ५५ अर्ब रूपैयाँ उठाएको थियो।
यो विभागले मंसिर एक महिनामा मात्र ३३ अर्ब २२ करोड राजस्व असुलीको लक्ष्य लिएको थियो। असुली भने २५ अर्ब ७४ करोड मात्रै गरेको छ।
'लक्ष्यअनुसार राजस्व उठेको छैन। तर अहिलेसम्म प्राप्त राजस्व गत आर्थिक वर्षको यही अवधिमा उठेको राजस्वको ९७ प्रतिशत बराबर हो,' राजस्व विभागका निर्देशक तथा प्रवक्ता राजीव प्रसाद प्याकुरेलले भने।
राजस्व विभागले यो अवधिमा उठाएकोमध्ये मूल्य अभिवृद्धि कर र अन्तःशुल्क शीर्षकको राजस्वमा सबभन्दा धेरै कमी आएको हो। गत वर्ष साउनदेखि मंसिरसम्म ४४ अर्ब ५३ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर उठाएकोमा यसपटक ४२ अर्ब मात्रै उठेको छ।
त्यस्तै गत वर्ष यही अवधिमा ४२ अर्ब ४५ करोड अन्तः शुल्क उठाएको विभागले यसपटक ३९ अर्ब ७४ करोड रूपैयाँ मात्र उठाउन सकेको छ।
कुनै सामानको उत्पादन तथा बिक्री वितरणपछि मूल्य बढ्दा मूल्य अभिवृद्धि कर उठाइन्छ। मूल्य अभिवृद्धि कर १३ प्रतिशतको दरमा लाग्छ।