पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेण्ट उद्योग फेरि घाटामा जान थालेको छ ।
सुरूका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेण्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै दुई करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेण्ट उत्पादन प्लाण्ट विभाग प्रमुख नवलकिशोर साहले बताए ।
गत वर्षमात्र उद्योगले २५ करोड रुपैयाँ मुनाफा गरेको र यस वर्ष पनि झण्डै १० करोड रुपैयाँभन्दा माथि नाफा गरिरहेका बेला अहिले निरन्तर विद्युत् भार कटौतीका कारण दुई करोड रुपैयाँभन्दा माथि घाटा भइसकेको उद्योग प्रशासनको भनाइ छ ।
नियमित विद्युत् आपूर्तिका लागि आफूहरूले सम्बन्धित निकायमा पटक-पटक अनुरोध गरे पनि अझै दैनिक विद्युत् भार कटौती हुन नछाडेपछि अब उद्योग ओरालो लाग्ने अवस्थामा आएको समेत उद्योगका कर्मचारी बताउँछन् ।