विगत तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारले अझै गति लिन सकेको छैन।
चालु आर्थिक वर्षको साउनमा बढेको घरजग्गा कारोबार भदौ र असोजमा भने क्रमशः घटेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा काठमाडौंमा दुई हजार एक सय ७० संख्यामा घरजग्गा कारोबार भएको थियो। सो संख्या बराबरको कारोबार हुँदा सरकारलाई ९८ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
विभागको तथ्यांक अनुसार साउनको तुलनामा भदौमा भने थोरै संख्याले घरजग्गा कारोबार घटेको देखिन्छ।
भदौमा काठमाडौंमा दुई हजार ५६ संख्यामा घरजग्गा किनबेच भएको थियो।
त्यसबापत सरकारलाई ९४ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
असोजमा आउँदा भने भदौको तुलनामा १९.२६ प्रतिशतले घरजग्गा कारोबार घटेको देखिन्छ।
असोजमा काठमाडौंमा १६ सय ६० संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ। यसबाट सरकारलाई ९२ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
घरजग्गा व्यवसायलाई मौद्रिक नीतिले सम्बोधन नगर्दा घरजग्गा कारोबार फस्टाउन नसकेको जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए।
'निर्माण क्षेत्रलाई सहजीकरण गर्दा घरजग्गा व्यवसाय फस्टाउँछ भन्ने थियो,' उनले भने, 'सोचेजस्तो भएन।'
नेपाल राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियोको अनुपात बढाए मात्रै आगामी दिनमा घरजग्गा कारोबार फस्टाउने उनको भनाइ छ।
काठमाडौंमा कहाँ, कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट हुन्छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्षको असोजमा चार सय ९७ संख्यामा घरजग्गा कारोबार भएको छ।
यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट असोजमा तीन सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय हो। यस कार्यालयबाट असोजमा तीन सय १५ संख्यामा कारोबार भएको छ।
आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
मनमैजु कार्यालयबाट असोजमा दुई सय तीन संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ७५ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय १९ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।