नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारको पत्रकार भेटघाट कार्यक्रम दुइटा कारणले महत्त्वपूर्ण छ —
पहिलो, उनले भदौ २४ गते सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री निवास बालुवाटार छाडेपछिका घटना र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्न लिखित सिफारिस गरेको भन्ने सन्दर्भमा आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
दोस्रो, भदौ २३ गते जेन–जी आन्दोलन सुरू भएयता हालसम्म भएका सबै घटनाक्रममा ओलीले आफ्नो धारणा राखेका छन्।
उनलाई कोटेश्वरको एउटा ब्यांक्वेटमा आयोजित भेटघाटमा एक दर्जनभन्दा बढी पत्रकारले लगभग एक घन्टा लगाएर प्रश्न सोधेका थिए। उनले ती प्रश्नमा जबाफ दिन पनि एक घन्टाभन्दा बढी नै लगाए।
पत्रकारहरूलाई १ बजे डाकेर आफै पौने २ बजे आइपुगेका ओलीले कुन विषयमा के भने?
बालुवाटार छाडेपछि 'सिज' गरिएको थियो मोबाइल
ओलीले भदौ २४ पछि सुशीला कार्की प्रधानमन्त्री नहुँदासम्म सेनाले आफ्नो मोबाइल नियन्त्रणमा लिएर सम्पर्कविहीन अवस्थामा राखेको खुलाएका छन्।
त्यस दिन प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा हमला गरेपछि सेनाले ओली दम्पतीलाई हेलिकप्टरमा राखेर हेटौंडाको ब्यारेकमा लगेको यसअघि नै सार्वजनिक भइसकेको छ। त्यसरी सेनाको सुरक्षामा बस्दा मोबाइल नै नियन्त्रणमा लिइएको थियो भन्ने ओलीले पहिलो पटक बताएका हुन्।
उनले आफ्नो मोबाइल भदौ २७ गते मात्र फिर्ता पाएको बताए, जब सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो।
'भदौ २४ गते राजीनामा दिएपछि म सेनाको सुरक्षामा थिएँ। सेनाको सुरक्षामा मेरो मोबाइल 'सिज' गरिएको थियो,' उनले आइतबार भने, 'मलाई असोज २७ गते बेलुकीसम्म सम्पर्कविहीन अवस्थामा राखिएको थियो। प्रधानमन्त्रीको शपथग्रहण हुने बेलासम्म मेरो हातमा मोबाइल थिएन।'
'सुशीला कार्कीलाई लिखित सिफारिस गरेको झूटो हो'
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा 'प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरिएको' उल्लेख छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न ओलीले लिखित सिफारिस पठाएको भन्दै आएका छन्।
'लिखित सिफारिस गर्ने उहाँ (ओली) नै हो, हामी त साक्षी मात्र हौं,' प्रचण्डले केही दिनअघि पत्रकारहरूसँगको संवादमा भनेका थिए।
ओलीले यी दुवै कुरा झूटो भएका बताएका छन्।
त्यति बेला राष्ट्रपति र प्रधानसेनापतिसँगको कुराकानीमा संविधानबाटै समाधान खोज्ने प्रयोजनका लागि आफूले सिफारिस गरेको उनको प्रस्टीकरण छ।
उनले त्यस दिन आफूले लेखेको सिफारिसको विवरण पनि सुनाए।
'वर्तमान असहज र असाधारण परिस्थिति नियन्त्रण गरेर देशलाई संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने भएकाले यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली र प्रक्रियाबाटै खोज्नुपर्छ। सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले उहाँले संविधान भित्रबाट अहिलेको परिस्थिति नियन्त्रण गर्न उपयुक्त कदम चाल्न आवश्यक छ भनेर मैले सिफारिस गरेको हुँ,' ओलीले आफूले लेखेको पत्रको बेहोरा उल्लेख गर्दै भने, 'मैले लेखेको यत्ति हो। यसमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्छु भनेर कहाँ भनिएको छ?'
ओलीले अगाडि भने, 'मसँग त्यो पत्रको प्रति छैन। परेका बेला त्यो प्रति निस्कन्छ, कहीँ नभए राष्ट्रपतिकहाँ भइहाल्छ। मैले सुशीला कार्कीको नाम उल्लेख गरेर कतै सिफारिस गरेको छु भने 'फ्ल्यास' गर्दिए हुन्छ। प्रचण्डजीसँग त्यसको प्रमाण छ भने निकाल्दिए हुन्छ।'
उनले भदौ २४ गते राजीनामा दिएपछि कामचलाउ प्रधानमन्त्रीका हैसियतले राष्ट्रपति र प्रधानसेनापतिसँग छलफल गरेको खुलाएका छन्।
'मैले उहाँहरूलाई संसद बाहिरबाट प्रधानमन्त्री ल्याउनै हुँदैन भन्ने जिकिर गरिनँ। संविधान कायम रहनुपर्छ र संसद विघटन हुनु हुँदैन भनेर भनेँ,' ओलीले भने, 'त्यति बेला संसद जीवित थियो। भदौ २५ गते नै संसदको बैठक थियो। त्यही संसदबाट समाधान खोज्न सकिन्थ्यो।'
उनले यो पनि भने, 'विशेष परिस्थितिमा प्रतिनिधि सभाभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न सकिन्थ्यो। त्यसले ६ महिनाभित्र चुनाव गराएर सातौं महिनामा सत्ता हस्तान्तरण गर्न सकिन्थ्यो। त्यो नमान्नुपर्ने र जनप्रतिनिधिमूलक संस्थाप्रति वैरभाव राख्नुपर्ने कुनै कारण थिएन। तर जेन–जीका नाममा त्यसो गर्न दिइएन।'
उनले संविधान अनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने हुँदा कार्कीको नियुक्ति 'असंवैधानिक' हुने पनि बताएका छन्।
'पूर्वप्रधानन्यायाधीशले संविधान त पढ्नु भएकै होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ त?' ओलीले प्रश्न गरे।
'नयाँ पिँढीलाई देशको स्वाभिमान सिकाउनुपरेको छ'
ओलीमाथि सामाजिक सञ्जाल बन्दको निर्णय गरेर जनताको असन्तोषलाई आक्रोशमा बदल्न भूमिका खेलेको आरोप छ।
ओलीले भने सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको बचाउ गर्दै नयाँ पिँढीलाई देशको इज्जत के हो भन्ने पाठ पढाएका छन्।
'हामीले टिकटक बन्द गर्दा उनीहरू नेपालको कानुन अनुसार दर्ता हुन आएका थिए। नेपालको कानुन मान्छु भनेर आएपछि प्रतिबन्ध फुकुवा भयो,' ओलीले भने, 'यसपालि पनि केही सामाजिक सञ्जालले नेपालको कानुन मान्दिनँ, कर तिर्दिनँ, नेपालमा दर्ता हुन्न भनेपछि हामीले बन्द गर्नुपर्ने अवस्था आयो। के कुनै पनि देशको राष्ट्रिय स्वाभिमान भन्ने हुँदैन? हाम्रा नवयुवाहरूलाई राष्ट्रको स्वाभिमान हुन्छ भनेर सिकाउनु परेको छ। कुनै पनि देशको इज्जत हुन्छ भनेर नयाँ पिँढीलाई बुझाउनु परेको छ।'
यति मात्र होइन, सरकारले प्रतिबन्ध लगाएपछि ती सामाजिक सञ्जाल कम्पनीहरूसँग कुराकानी भइरहेको र उनीहरू नेपालको कानुन अनुसार दर्ता हुन आइरहेको उनले उल्लेख गरे।
'यो घटना नभइदिएको भए ती सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुन आउने वातावरण बनिसकेको थियो,' उनले भने।
भदौ २३ गते कसरी गोली चल्यो?
पूर्वप्रधानमन्त्री ओलीमाथि भदौ २३ गते स्कुल–ड्रेस लगाएका निहत्या विद्यार्थीहरूमाथि गोली चलाउन आदेश दिएको आरोप छ।
उनले भने गोली चलाउने आदेश आफूले नदिएको र यस्तो आदेश दिने काम प्रधानमन्त्रीको हुँदै नभएको बताएका छन्।
उनका अनुसार त्यस दिनको आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले अघिल्लो रात नै ब्रिफिङ गरेको थियो।
'६/७ हजार विद्यार्थी जम्मा हुने कुरा छ, शान्तिपूर्ण जुलुस हुन्छ, जुलुस नयाँबानेश्वर आइपुग्दैन भनेर मलाई ब्रिफिङ गरिएको थियो,' ओलीले भने, 'भोलिपल्ट गोली चल्यो भन्ने सुनेपछि मैले गृहमन्त्री (रमेश लेखक) लाई सोधेँ। उहाँले रबरको गोली चलाइएको हो भन्नुभयो।'
उनले अगाडि भने, 'भदौ २३ गते १२ बजेसम्म जुलुस शान्तिपूर्ण थियो। त्यसपछि भटभटे मोटरसाइकल चढेर आएकाहरूले नयाँबानेश्वरको सुरक्षा ब्यारिकेड तोड्न खोजे। अहिले 'टिओबी' जस्ता समूह बन्दुक बोकेर हिँडेका थिए भन्ने कुरा आएको छ। त्यस्ता मान्छेले जुलुसमा घुसपैठ गरेर ब्यारिकेड तोड्न खोजेपछि आन्दोलन आह्वान गर्ने जेन–जीहरू हाम्रो कार्यक्रम सफल भयो भनेर घोषणा गर्दै घर फर्किसकेका थिए।'
'उनीहरू घर फर्किसकेपछि तिनै भटभटे मोटरसाइकलमा आएका तत्वहरू आन्दोलन चर्काउँदै संसद भवन छिर्न खोजे। त्यहाँ पहिलेजस्तो सुरक्षाकर्मी तैनाथ थिएनन्। विद्यार्थीहरू आउने हुन्, शान्तिपूर्ण माग राखेर जाने हुन् भन्ने थियो। त्यसैले साधारण प्रहरी मात्र तैनाथ थिए। शान्ति सुरक्षाका लागि खटिएका ती साधारण प्रहरीसँग एसएलआर जस्ता स्वचालित हतियार हुँदैनन्। त्यस दिन भने स्वचालित हतियारबाटै गोली चलेको छ। यस्तो अवस्था कसरी आयो?'
ओलीले भदौ २३ को घटनामा दुइटा अध्याय भएको बताए।
उनका अनुसार माइतीघरदेखि नयाँबानेश्वरसम्मको शान्तिपूर्ण प्रदर्शन पहिलो अध्याय हो भने 'भटभटे मोटरसाइकल' चढेर आएकाहरू आक्रामक हुँदै संसद भवन छिर्न खोजेपछि उत्पन्न घटना दोस्रो अध्याय हो।
'भदौ २३ को दोस्रो अध्यायले नै भदौ २४ गते आगजनी, तोडफोड र विध्वंशको तयारी निम्ति जनतालाई उत्तेजित बनाउने काम गर्यो,' ओलीले भने।
उनले यही घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचुबझ आयोगलाई 'बोगस' भनेका छन् र त्यसले बोलाए पनि बयान दिन नजाने बताएका छन्।
'यस्ता बोगस आयोगले बोलायो भन्दै केपी ओली लुरूलुरू बयान दिन जाँदैन,' उनले भने।
पार्टी नेतृत्व छाड्ने कि नछाड्ने?
नेकपा एमाले अध्यक्ष ओलीले मंगलबारको संवादमा पार्टी अध्यक्ष छाड्ने मनसाय नरहेको प्रस्टै खुलाएका छन्।
आफू शारीरिक र मानसिक रूपले सक्रिय रहेकाले पार्टीको नेतृत्व छाड्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ।
'कुनै पनि टिमको क्याप्टेन हुन्छ। क्याप्टेनले छाडेपछि टिमबाटै अर्को व्यक्ति क्याप्टेन बन्छ। बाहिरको मान्छेले भन्दैमा कसैले क्याप्टेनसिप छाड्दैन। क्याप्टेनले आफ्नो जिम्मेवारी छाड्न त टिमले भन्नुपर्यो नि,' ओलीले भने, 'अहिले नेकपा एमालेमा केपी ओली नै टिमको क्याप्टेन हो भन्ने राय छ।'
उनले अगाडि भने, 'नेपाली कांग्रेसमा शेरबहादुरजीले कार्यवाहक दिनुभयो, तपाईंले पनि छाड्नुपर्यो भनेर मान्छेहरू भन्छन्। देउवाजी त उपचार गर्न जानुभएको थियो, त्यसैले उहाँले कार्यवाहक दिनुभयो। म अहिले पनि पाँच फिटसम्मका पोथ्रा नाघ्न सक्छु। म किन कार्यवाहक दिऊँ?'
यसै सन्दर्भमा उनले अमेरिकादेखि रूस र भारतदेखि चीनसम्मका नेताहरूको उमेर पनि गनाए।
७३ वर्षका ओलीले भने, 'बंगलादेशमा ८५ वर्षका व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ, भारतमा ७६ वर्षका प्रधानमन्त्री हुनुहुन्छ। अमेरिकामा ८० वर्षका नेता नेतृत्वमा छन्। रूसी राष्ट्रपति पुटिन मभन्दा ७ महिना मात्र कान्छा हुन् भने चीनका राष्ट्रपति सी चिनफिङ मभन्दा डेढ वर्ष मात्र कान्छा हुन्।'
कुनै पनि व्यक्ति नेतृत्वमा बस्न सान्दर्भिक छ कि छैन भन्ने कुरा उमेरले निर्धारण नहुने उनले बताए।
यति मात्र होइन, उनले जनताले चाहे आफू फेरि प्रधानमन्त्री भएर आउने पनि उल्लेख गरे।
'मलाई तपाईं असान्दर्भिक हुनुभयो भनेर अरूले भन्ने होइन, जनताले भन्ने हुन्,' उनले भने, 'जनताले असान्दर्भिक ठानेका छन् र उनीहरू अब मलाई देख्नै चाहँदैनन् भने निर्वाचनमा भोट हाल्दैनन्। म आएँ भने चुनावबाटै आउँछु। जनताकै भोट जितेर आउँछु।'
झिके शृंखला खतिवडाको प्रसंग
केपी ओलीले जेन–जी आन्दोलन क्रममा एकदमै चर्केको 'नेपोबेबी' को प्रसंग पनि झिकेका छन्।
सामाजिक सञ्जालमा 'नेपोबेबी' अभियानका नाममा पूर्वमिस नेपाल तथा एकीकृत समाजवादी नेता विरोध खतिवडाकी छोरी शृंखला खतिवडाको बदनाम गरिएको उल्लेख गर्दै उनले भने, 'शृंखला खतिवडालाई उनका आमाबुबाले के गरेका थिए र? के दिएका थिए र? अरू आमाबुबाले जसरी आफ्ना छोराछोरीलाई माया गर्छन्, त्यस्तै माया त गरेका थिए। त्योभन्दा बढी शृंखलाले के पाएकी थिइन्?'
'के श्रृंखलालाई उनका आमाबुबाले हेलिकप्टरमा स्कुल पुर्याउने गरेका थिए?' ओलीले प्रश्न गरे, 'म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ। यसलाई मेरो अहंकार भन्नुस् या जेसुकै भन्नुस्।'
भ्रष्टाचारको छानबिन गरे हुन्छ
ओलीले आफूले एक पैसा भ्रष्टाचार नगरेको दाबी गर्दै कसैलाई छानबिन गर्न मन लागे गरे हुन्छ भनेर चुनौती दिएका छन्।
'कहिलेदेखि सुरू गर्ने हो, छानबिन सुरू गरौं। सबै नेताहरूको सम्पत्ति छानबिन गरौं। म तयार छु। मेरो बैंक स्टेटमेन्ट हेरे हुन्छ। कुनै कम्पनीमा सेयर छ कि भनेर शंका लागे त्यो पनि जाँचे हुन्छ। संसारका अरू बैंकमा पैसा थुपारेको छ भन्ने लागे सरकारले आफ्नो च्यानल प्रयोग गरेर संसारभरिका बैंकमा खोजतलास गरे हुन्छ,' उनले भने।
उनले आफू लगायतका नेताहरूको मात्र होइन, बिचौलिया र दलालहरूको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताए।
'मेरो ९६ वर्षका बुबा बस्ने घर जलाइयो'
ओलीले भदौ २४ को घटनामा आफ्ना हजुरबुबाले १२५ वर्षअघि बनाएको घरसमेत प्रदर्शनकारीहरूले जलाइदिएको बताएका छन्।
त्यस्तै, आफ्ना ९६ वर्षीय बुबा बस्दै आएको र आफू बेला बेला झापा जाँदा बस्ने घर पनि जलाइएको उनले बताए।
'मेरो ९६ वर्षीय बुबा बस्ने घर जलाए। मेरा हजुरबुबाले १२५ वर्षअघि बनाएको घर जलाए। मैले २३ वर्षअघि बेचिसकेको घर पनि जलाए,' उनले भने, 'हुँदाहुँदा म झापा जाँदा जुन घरमा बस्थेँ, त्यो घरलाई पनि मेरो आफ्नो ठानेर जलाइदिए। ती व्यक्तिलाई मैले आफ्नो कारणले घर जलेको सहानुभूति दिन जान पनि पाएको छैन।'
खोजी खोजी आफूमाथि हमला हुँदा र सुरक्षा जोखिम बढेका बेला सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएकोमा पनि उनले आक्रोश व्यक्त गरे।
'ममाथि सुरक्षा खतरा छ तर सरकार मेरो सुरक्षा फिर्ता लिन्छ,' उनले भने, 'मेयर र वडाध्यक्षको सुरक्षा बढाउँछ। आफ्नो गिरोहका मानिसको सुरक्षा बढाउँछ। यस्तो भयो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ। जनताले सरकारको मनसाय बुझ्छन्, शान्ति सुरक्षा खस्केको देख्छन्, अनि केपी ओली नै प्रधानमन्त्री चाहियो भन्न थाल्छन्।'
सरकारले भदौ २४ गते भएका घटनाको अनुसन्धान गर्नभन्दा आफूलाई जसरी हुन्छ थुन्ने योजना बनाएको बताएका छन्।
निर्वाचनबारे के भन्छन्?
ओलीले प्रहरीबाट लुटिएका हातहतियार र कैदीबन्दीलाई बजारमा खुला छाडेर, नेताहरूलाई थुनेर कसरी निर्वाचन हुने भनेर प्रश्न गरेका छन्।
आन्दोलन क्रममा १२ सय हतियार र एक लाखभन्दा बढी गोली लुटिएको दाबी गर्दै उनले निर्वाचन गर्न सुरक्षाको प्रत्याभूति नभएको बताए।
'१२ सय हतियार, एक लाख गोली, १३–१४ हजार कैदी जेलबाट भगाएर, अनि नेताहरूलाई थुन्न खोजेर कसरी हुन्छ निर्वाचन?' उनले प्रश्न गरे।
गृह प्रशासनले अहिलेसम्म लुटिएका हतियार र गोलीको विवरण सार्वजनिक गरिसकेको छैन।