जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनपछि काठमाडौंका सडकहरूमा केही दिन ट्राफिक प्रहरी नै देखिएनन्।
तोडफोड, आगजनी, लुटपाट भए पनि काठमाडौंमा मानिसहरूको जनजीवन केही दिनमै सामान्य अवस्थामा फर्कँदै थियो। सडकमा सवारी साधनहरूको आवतजावत पनि बाक्लिँदै थियो। तर सडकमा ट्राफिक प्रहरीको उपस्थिति न्यून थियो।
भदौ २४ गते काठमाडौंको प्रदर्शन हिंसात्मक बन्दा ट्राफिक प्रहरी पनि निशानामा परे।
सडकमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट भयो, उनीहरूको वर्दी लुटियो, कार्यालयमा आगजनी भयो, सामानहरू जले। त्यसकारण काठमाडौंमा सवारी साधनको सामान्य आवातजावत भइसक्दा पनि ट्राफिकहरू ड्युटीमा फर्किएनन्।
असोजयता ट्राफिकहरू सामान्य अवस्थामै काममा फर्किसकेका छन्।
भदौ २४ गते २१ जना ट्राफिक प्रहरी घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार अहिले उनीहरूको अवस्था सामान्य छ।
'ट्राफिक प्रहरीमाथि कुटपिट मात्र भएन, सबै सामग्री जले, लुटिए। हामीसँग त केही पनि छैन। शून्य जस्तै भएका थियौं,' एसपी सुवेदीले भने, 'अहिले पनि हामीसँग आवश्यक सामग्री छैन। तैपनि सर्वसाधारणको सुरक्षाका लागि सडकमा फर्किसकेका छौं।'
जेन-जी आन्दोलनको क्रममा ट्राफिक प्रहरीले उपत्यकामा के-के गुमायो भनेर एसपी सुवेदीसँग सोधेका छौं।
उनका अनुसार उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले ७८ वटा युनिट बनाएर काम गरिरहेको थियो। त्यसमध्ये ३७ वटा युनिटका भवन पूर्ण क्षति भएका छन् भने २१ वटामा आंशिक क्षति पुगेको छ।
आंशिक क्षति पुगेका र सग्लै रहेका युनिटहरूबाट अहिले ट्राफिक प्रहरी कार्यालयहरूले सेवा दिइरहेको छ।
ट्राफिक प्रहरी कार्यालयका ६० वटा सवारी साधनमध्ये दुईपांग्रे सवारी साधन पूर्ण रूपमा जलेका छन् भने २६ वटा चारपांग्रे जलेका छन्। जसमा मोबाइल भ्यान, प्रहरी भ्यान रहेका छन्।
जसमा २१ वटा दुईपांग्रे र ४ वटा चारपांग्रे सुरक्षित रहेको एसपी सुवेदीले जानकारी दिए।
ट्राफिक कार्यालयका सवारी साधन मात्र जलेनन्। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले कारबाहीका लागि ल्याएका ३४० वटा दुईपांग्रे सवारी साधन जलाइएको छ भने १६ वटा चारपांग्रे परेका छन्।
ट्राफिक प्रहरीका व्यक्तिगत ९३ वटा दुईपांग्रे र २ वटा गाडीसमेत जलेका छन्।
'कार्यालयमा भएका र कारबाहीका लागि ल्याइएको सवारी साधन आन्दोलनको क्रममा चोरी भएको हुनसक्ने पनि अनुमान गरेका छौं,' उनले भने, 'कार्यालयमा जल्यो होला भनेको सवारी साधन बाहिर भेटिएको छ। त्यसैले कति जल्यो, कति चोरी भयो भन्ने यकिन गर्न सकिएको छैन।'
ट्राफिक प्रहरी र कार्यालयको मात्र नभई सर्वसाधारणको पनि सवारी साधन जलेकोमा दुःख लागेको उनको भनाइ छ।
ट्राफिक लाइट
उपत्यकाका ७२ वटा स्थानमा भएका ट्राफिक लाइटमध्ये ६३ वटामा क्षति पुगेको थियो। ९ वटाले मात्रै काम गरिरहेका छन्।
क्षति पुर्याइएका १८ ठाउँका ट्राफिक लाइट मर्मत गरेर अहिले २७ वटा ट्राफिक लाइटले काम गरिरहेको एसपी सुवेदीले जानकारी दिए।
'तीन/चार दिनदेखि २७ ठाउँका ट्राफिक लाइटले काम गरिरहेको छ। बाँकी विस्तारै मर्मत गर्दै लैजाने तयारी छ,' उनले भने।
ट्राफिक आइल्याण्ड
काठमाडौंका मुख्य सडकका चोक-चोकमा विस्तारै ट्राफिक आइल्याण्ड राख्न थालिएको थियो। पुराना र स्मार्ट गरी ५३ ठाउँमा ट्राफिक आइल्याण्डहरू बनाइएका थिए। सवारी आवागमन व्यवस्थापनका लागि काम गर्ने ट्राफिक बस्न अथवा उभिनका लागि बीच सडकमा बनाइएको संरचनालाई ट्राफिक आइल्याण्ड भनिन्छ।
ती सबै पूर्ण रूपमा क्षति पुगेका छन्। आइल्याण्डहरू मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने कतै नभएको एसपी सुवेदीले सेतोपाटीलाई जानकारी दिए।
ट्राफिक कोन र डिभाइडर
सवारी साधन जथाभावी नमोडुन्, आफ्नो लेनमा सुरक्षित हिँडुन् भन्ने सुनिश्चित गर्न सडकमा ट्राफिक कोन राखिने गरिएको छ। पुराना कोन अलि साना र हलुका थिए।
तर पछिल्लो समयमा ३ देखि ५ किलोसम्मका ट्राफिक कोन राखिने गरिएको छ। यसरी उपत्यकाका विभिन्न ठाउँमा ४ हजार ७२७ वटा कोनहरू पूर्ण रूपमा ध्वस्त भएको एसपी सुवेदीले जानकारी दिए।
त्यस्तै सडकमा राखिएका १४८ वटा डिभाइडर पनि जलेका छन्। डिभाइडरमा बालुवा, पानी हालेर राखेर दुर्घटनाबाट सवारी साधनलाई सुरक्षित राख्न मद्दत गर्छ। कुनै पनि सवारी साधन अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएमा पनि धेरै क्षति नहोस् भनेर बालुवा वा पानी हालेर राखिने गरिएको उनले बताए।
'ट्राफिक डिभाइडर र कोन काठमाडौं महानगरपालिकाले पनि सहयोग गरिरहेको छ,' उनले भने।
बडीवर्न क्यामेरा २०९ वटा क्षति
ट्राफिक नियम पालना नगर्ने र चालकहरूले प्रहरीलाई गर्ने व्यवहारमाथि निगरानी गर्नका लागि बडीवर्न क्यामेरा प्रयोग गरिन्थ्यो।
अहिलेसम्म प्रहरीसँग २१४ वटा मात्रै थिए। त्यसमध्ये २०९ वटा क्षति भएका छन्। बाँकी चोरी भयो कि जल्यो भन्न सक्ने अवस्थामा छैन। बडीवर्न क्यामेरा कसैले लगेको भए पनि प्रयोगमा ल्याउन सक्दैनन्। त्यसैले लगेकाहरूले फिर्ता ल्याइदिनका लागि आग्रह गरेको उनले बताए।
२९ वटा गोप्रो क्यामरा क्षति
जथाभावी यात्रु पिक एण्ड ड्रप गर्ने सवारी साधन र लेन अनुशासन पालना नगर्नेहरूलाई कारबाही गर्न ट्राफिक प्रहरीले छातिमा गोप्रो क्यामरा प्रयोग गर्ने गरेका थिए।
चालक र ट्राफिक प्रहरीबीचको कुराकानी दृश्य प्रष्ट देखिने भएकाले त्यसलाई प्रयोगमा ल्याइएको थियो।
लेन मिचेर गए पनि गोप्रोमा कैद भएमा त्यस्ता व्यक्तिलाई कारबाही गरिन्थ्यो। ट्राफिक प्रहरीका लागि एकदमै उपयोगी गोप्रो सबै जलेको एसपी सुवेदी बताउँछन्। उनका अनुसार ट्राफिकसँग त्यस्ता २९ वटा गोप्रो क्यामेरा थिए।
लिडार गन
सवारी आवागमनलाई सहज, सुरक्षित एवं भरपर्दो बनाई सडकमा पैदलयात्रु, चालक तथा अन्य यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले लिडार गन प्रयोग गर्न थालिएको थियो।
लिडार गन ट्राफिक प्रहरीसँग जम्मा २१ वटा थिए। तीमध्ये १७ वटा नष्ट भएको एसपी सुवेदीले जानकारी दिए।
'ती गन प्रदर्शनकारीहरूलाई काम पनि छैन। लगेको भए फिर्ता ल्याइदिँदा पनि हुन्छ,' उनले भने।
३९४ थान इ-चलान मोबाइल क्षति, एउटा मात्र बाँकी
सवारी चालक अनुमतिपत्रको नियमन र कारबाही गर्न ३९५ वटा मोबाइलबाट इ-चलान काटिने गरिएको थियो। ट्राफिक प्रहरीसँग तीमध्ये एउटा मात्र बाँकी छ।
'डिजिटल कारबाहीका लागि प्रयोग गर्दै आएका थियौं,' उनले भने।
म्याजिक लाइट
ट्राफिक प्रहरीले रातको समयमा सवारी साधनलाई पास गराउन वा रोक्न प्रयोग गर्ने लाइटलाई म्याजिक लाइट भनिन्छ।
पछिल्लो समय सडकका मुख्य चोकमा 'इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम' राखिएका छन्। तर सबै ठाउँमा छैनन्। त्यसैले म्याजिक लाइट प्रयोग गरिन्थ्यो।
प्रहरीसँग ७८५ वटा थिए। त्यसमध्ये ६९० वटा क्षति पुगेका छन्।
त्यस्तै, ११३ थान कम्प्युटर, ६३ वटा प्रि-प्रिन्ट मेसिन, फ्याक्स मेसिन ८ वटा, ड्रोन क्यामरा, ११ ल्यापटप, ध्वनि जाँच्ने मेसिन एउटा, २०१ वटा ब्रेथलाइजर, स्मार्ट कार्ड रिडर १५ वटा लगायतका सामग्रीहरू पूर्ण रूपमा जलेका छन्।
कार्यालयभित्र मात्र नभई ट्राफिक प्रहरीले प्रयोग गर्दै आएका हरेक सामानहरू पूर्ण रूपमा जलेका छन्। प्रहरीसँग आवश्यक सामग्रीहरू केही छैनन्। तर पनि आफ्नो जिम्मेवारी निभाउन सडकमा निस्किसकेको एसपी सुवेदीले जानकारी दिए।
'म्याजिक लाइटदेखि प्रहरी पोसाकसम्म जलाइयो, तर पनि हामी तपाईंहरूको सेवामा खटिरहेका छौं,' एसपी सुवेदीले भने, 'हामी हिजो पनि सर्वसाधारणलाई सुरक्षित राख्न खटिएका थियौं। आज पनि छौं।'