चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।
विभागको तथ्यांक अनुसार काठमाडौंमा दुई हजार एक सय ७० संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत वर्ष सोही महिनाको तुलनामा २३.२९ प्रतिशतले बढी हो।
गत साउनमा काठमाडौंमा एक हजार सात सय ६० संख्यामा घरजग्गा कारोबार भएको थियो।
कारोबार संख्या बढेसँगै राजस्व पनि वृद्धि भएको छ। साउनमा घरजग्गा कारोबारबाट ९८ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। यो गत साउनमा प्राप्त भएको राजस्वको तुलनामा ३५.७१ प्रतिशतले बढी हो।
गत साउनमा घरजग्गा कारोबारबाट सरकारलाई ७२ करोड २४ लाख रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
त्यस्तै, साउनमा काठमाडौं उपत्यकामा दुई हजार १४ संख्यामा जग्गा कित्ताकाट भएको छ भने गत साउनमा एक हजार तीन सय ८३ संख्यामा जग्गा कित्ताकाट भएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिका कारण घरजग्गा कारोबार बढ्न थालेको जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए।
'घरजग्गा भनेको मानिसको अत्यावश्यक वस्तुमा पर्छ। सधैंभरी कारोबार रोकिँदैन,' उनले भने, 'त्यसलै अब बढ्न थालेको हो।'
उनका अनसार पछिल्लो समय घरजग्गा कारोबारप्रति सरकारको हेर्ने दृष्टिकोण फेरिएका कारण पनि घरजग्गा कारोबार बढेको हो।
आगामी दिनमा घरजग्गा कारोबार बढ्दै जानेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ।
'अहिले घरजग्गाको कारोबारको सिजन होइन तर पनि गत वर्षको तुलनामा बढेको छ,' उनले भने, 'दसैंपछि राम्रो कारोबार हुन थाल्छ।'
काठमाडौंमा कहाँ कति भयो किनबेच?
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्ष पहिलो महिना (साउन)मा ६ सय ५४ संख्यामा घरजग्गा कारोबार भएको छ।
यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट साउनमा ४ सय १४ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
त्यस्तै, तेस्रोमा चाबहिल मालपोत कार्यालय हो। यस कार्यालयबाट साउनमा ४ सय ५३ संख्यामा कारोबार भएको छ।
आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
मनमैजु कार्यालयबाट साउनमा २ सय ९४ संख्यामा कारोबार भएको छ। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट एक सय ८४ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट एक सय ७१ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।