चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको मौद्रिक नीतिमा घरजग्गा व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
कतिपयले मौद्रिक नीतिले घरजग्गा व्यवसायमा सुधार आउने बताएका छन् भने कतिपयले यसले आफूहरूको माग सम्बोधन नभएको प्रतिक्रिया दिएका छन्।
विगत केही वर्षदेखि शिथिल घरजग्गा कारोबारमा आशातित सुधार हुन सकेको छैन। आर्थिक वर्ष २०८०/८१ को सुरूआतदेखि नै घरजग्गा कारोबार बढ्न नसकेपछि व्यवसायी मौद्रिक नीतिको पर्खाइमा रहेको उनीहरूको प्रतिक्रिया थियो।
शुक्रबार राष्ट्र बैंकले चालु वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त नीतिमा घरजग्गा व्यवसायको लागि नयाँ व्यवस्था गरिएको देखिँदैन।
विषम परिस्थितिमा पनि घरजग्गा व्यवसायलाई सम्बोधन नगर्नु व्यावहारिक नभएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।
'मौद्रिक नीतिको पर्खाइमा थियौं। यसले पनि केही सम्बोधन गरेन नगर्दा मनोबल गिरेको छ,' उनले भने।
व्यवसायीले घरजग्गा कारोबारमा सुधार ल्याउन कर्जा–आम्दानी अनुपात र लोन टु भ्यालु रेसियो बढाउन माग गर्दै आएका थिए।
उनले भने, 'हामीले यहीँ दुइटा विषय माग गरेका थियौं। दुवै सम्बोधन भएन।'
नेपाल राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जाअन्तर्गत राखेको छ। यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ६० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् आफ्नो मासिक आम्दानीको ६० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरी पैसा ऋण लिन सकिन्छ।
त्यस्तै, ५० लाख रूपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ७० प्रतिशतसम्म पुर्याइएको छ।
त्यस्तै, लोन टु भ्यालु रेसियो भनेको सम्पत्तिको मूल्यांकन गर्ने पद्दती हो। अहिले रियल स्टेटको हकमा ५० प्रतिशत र हाउजिङ कम्पनीको हकमा ६० प्रतिशत लोन टु भ्यालु रेसियो छ।
अर्थात् तपाईंको सम्पत्ति एक करोड मूल्यको छ भने तपाईंले बैंकबाट ४० देखि ५० लाख रूपैयाँसम्म कर्जा पाउनु हुनेछ।
व्यवसायीले भने यी दुवैलाई ८० प्रतिशत पुर्याउन माग गरेका थिए।
माग गरिएअनुसार मौद्रिक नीतिमा सम्बोधन नभएपनि अन्य क्षेत्र चलायमान हुँदा घरजग्गा क्षेत्र पनि चलायमान हुनेमा आफू आशावादी रहेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए।
'केही महत्त्वपूर्ण राम्रा कुरा आएका छन्। यसले अर्थतन्त्र चलायमान बनाउँछ भन्ने आशा छ,' उनले भने।
घरजग्गा व्यवसायलाई प्रत्यक्ष असर पार्ने गरी ठोस निर्णय नगरेतापनि समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएको घरजग्गा व्यवसायी विनोद सुवेदी बताउँछन्।
'घरजग्गा व्यवसायलाई ठ्याक्कै नछोए पनि मौद्रिक नीति ब्यालेन्समा आएको देखिन्छ,' उनले भने, 'अर्थतन्त्रका अन्य सूचक चलायमान हुँदा घरजग्गा व्यवसायमा पनि असर गर्छ।'
निर्माण क्षेत्र र सेयर बजारलाई चलायमान बनाउँदा अप्रत्यक्ष रूपमा घरजग्गा क्षेत्रमा असर गर्ने उनको भनाइ छ।
मौद्रिक नीतिले विशेषगरी निर्माण क्षेत्रलाई सहजीकरण गरेको छ। त्यस्तै, संस्थागत सेयर लगानीकर्ताको ऋण सीमा हटाइएको छ।
'अहिले सबैभन्दा पैसा रोकिएको निर्माण, सेयर बजार र घरजग्गामा हो। निर्माण र सेयर बजारबाट आएको पैसा घरजग्गामा आउँछ भन्ने आशा छ,' उनले भने।
मौद्रिक नीतिमा १२.५ प्रतिशतको कर्जा विस्तार गर्ने व्यवस्था गरेकाले समग्र रूपमा कर्जा विस्तार हुँदा घरजग्गा क्षेत्रमा पनि कर्जा विस्तार हुने उनले बताए। कर्जा विस्तार भएसँगै घरजग्गाको कारोबार बढ्ने उनको भनाइ छ।