लगातार चार महिनासम्म स्थिर रहेको घरजग्गा कारोबार जेठमा भने बढेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को माघदेखि वैशाखसम्मै देशभर घरजग्गा कारोबार स्थिर थियो। त्यसअघिका महिनामा भने कारोबार घटबढ भइरहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो।
वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो।
यो कारोबार गत वर्ष जेठको तुलनामा पनि ११ प्रतिशतले बढी हो। गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।
घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ।
जेठमा सरकारलाई घरजग्गा कारोबार बापत चार अर्ब ३३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। यो वैशाखको तुलनामा १२.३० प्रतिशतले बढी हो।
वैशाखमा घरजग्गा कारोबार बापत तीन अर्ब ८६ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।
त्यस्तै, गत वर्ष जेठमा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ७५ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
नेपाल राष्ट्र बैंकले जेठ पहिलो साता घर कर्जामा जाने कर्जा–आम्दानी अनुपात बढाएसँगै घरजग्गा कारोबार बढेको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।
'अहिले कर्जा–आम्दानी अनुपात ७० प्रतिशत पुर्याइएको छ,' उनले भने, 'त्यसको प्रभाव परेको हुनसक्छ।'
राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मलाई व्यक्तिगत आवास कर्जा अन्तर्गत राखेको छ।
यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ५० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको थियो।
हाल यस्तो अनुपात ७० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। अर्थात् आफ्नो मासिक आम्दानीको ७० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरिको पैसा ऋण लिन सकिन्छ।
त्यस्तै ५० लाख रूपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ६० प्रतिशतसम्म छ।
सरकारले घरजग्गा कारोबार बढाउन कर्जा–आम्दानीको अनुपात अझै बढाउन पर्ने उनी बताउँछन्।
'कर्जा र आम्दानीको अनुपात ७० प्रतिशत पुर्याएर पुग्दैन। ८० प्रतिशत पुर्याउनु पर्छ,' उनले भने।
उनका अनुसार आम्दानीको ८० प्रतिशतसम्म किस्ता तिर्न मिल्ने गरीको कर्जा लिन पाउने व्यवस्था हुँदा कर्जा प्रवाह बढ्छ। धेरै मानिसको कर्जा लिने क्षमता बढ्छ। अनि घरजग्गा कारोबार स्वाभाविक रूपमा बढ्छ।
विभागको तथ्यांक अनुसार चैतमा देशभर ५० हजार दुई सय ५२ संख्यामा घरजग्गा कारोबार भएको थियो।
माघ र फागुनमा पनि यो संख्यामा खास धेरै घटबढ भएको देखिँदैन। माघमा देशभर ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो भने फागुनमा देशभर ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको थियो।