घर बनाउँदा झ्याल-ढोकाको विशेष महत्त्व हुन्छ। तर हामीमध्ये धेरैलाई कस्तो झ्याल-ढोका राख्ने, कति खर्च हुन्छ भन्नेबारे थाहा हुँदैन।
घर बनाउनुअगाडि नै थोरै जानकारी भयो भने पैसा छुट्टयाउन र तयारी गर्न सहज हुन्छ।
हामीले निर्माण सामग्री व्यवसायी तथा निर्माण कम्पनीहरूको सहयोगमा झ्याल-ढोकाको प्रकार र लाग्ने खर्चबारे यहाँ उल्लेख गरेका छौं।
सुरूमा झ्यालबारे बुझौं।
अहिले काठ, आलुमिनियम र युपिभिसी (एक प्रकारको प्लास्टिक) का झ्याल लगाउने चलन छ।
पहिलेको तुलनामा काठको झ्याल प्रयोग कम हुँदै गएको काठमाडौं, उत्तरढोकास्थित राम फर्निचर उद्योगका सञ्चालक दीपक पौडेल बताउँछन्।
काठमाडौं उपत्यकामा देशभित्र र विदेशबाट काठ आउँछ। बजारमा नेपाली र भारतीय अग्राख (सालको काठ), जामुन, सिसौ, आँप लगायत विभिन्न काठ चल्तीमा छन्। भारतीयको तुलनामा नेपाली काठ महँगो पर्छ।
उनका अनुसार भारतीय अग्राखको मूल्य प्रति क्युबिक फिट पाँच हजार पाँच सय रूपैयाँ छ। नेपाली अग्राखको ६ हजार पाँच सय रूपैयाँ पर्छ। अरू काठ एक हजार पाँच सयदेखि ६ हजार रूपैयाँसम्म पाइन्छ।
'नेपाली सालको काठ सबभन्दा राम्रो र गुणस्तरीय मानिन्छ। यसबाट बनेका झ्याल-ढोका हत्तपत्त बिग्रिँदैन। कीरा-धमिरा लाग्दैन,' दीपकले भने।
काठको चौकोस र फ्रेम भए पनि यसमा सिसाको पल्ला राख्ने चलन छ।
टोखा, ढलमल पुलस्थित अर्जुन हार्डवेयरका सञ्चालक अर्जुन भट्टका अनुसार सिसाको भाउ प्रकारअनुसार (सादा, रंगीन, बुट्टेदार) प्रति वर्गफिट ८० देखि १५० रूपैयाँसम्म पर्छ। सिसा भारतीयभन्दा चिनियाँ अलिकति सस्तो पर्छ।
त्यस्तै आलुमिनियम झ्यालको भाउ रङ, आकार र डिजाइन अनुसार फरक हुन्छ। यसको भाउ प्रति वर्गफिट ६५० देखि ८५० रूपैयाँ पर्छ।
युपिभिसी झ्याल भने ४७५ रूपैयाँ प्रति वर्गफिटमा पाइन्छ। यो सेतो, खरानी, खैरो र उडन (काठजस्तै देखिने) रङमा उपलब्ध हुन्छ। सेतो सबभन्दा सस्तो र चल्तीमा छ। सेतोबाहेक अरू रङका र बाथरूममा लगाउने युपिभिसी झ्याल भने अलि महँगो हुन्छ।
साढे दुईतले घर बनाउँदा झ्याल-ढोकामा कति खर्च छुट्ट्याउन पर्ला?
यसबारे जान्न हामीले आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपालका सह-संस्थापक आर्किटेक्ट इञ्जिनियर सत्येन्द्र भट्टराईको सहयोग लिएका छौं।
यो नौ सय वर्गफिट क्षेत्रफलमा बन्ने घरको लागत अनुमान हो।
इञ्जिनियर भट्टराईका अनुसार परम्परागत शैलीका घरमा काठकै झ्याल राख्नुपर्छ, आधुनिक शैलीको सुहाउँदैन।
काठको झ्याल-ढोका राख्दा गारो लगाउने बेलामै चौकोस हाल्नुपर्छ। चौकोस भनेको झ्याल वा ढोका अड्याउने फ्रेम हो। सामान्यतया झ्याल ४ फिट उचाइ र ६ फिट चौडाइको हुन्छ। चौकोसमा अनिवार्य अग्राखको सिजनिङ (पालिस) गरिएको काठ राख्न उनी सुझाव दिन्छन्।
नौ सय वर्गफिट वा कम जमिनमा प्रायः एकातिर च्यापेर घर बनाउने चलन छ। त्यसैले साढे दुई तलामा १५ वटासम्म झ्याल हुन्छन्। पाँचदेखि ६ वटा बाथरूम हुन्छन्। बाथरूममा राख्ने झ्यालको आकार बेग्लै हुन्छ।
माथिको मूल्य अनुसार पन्ध्रवटा चौकोसमा नेपाली वा भारतीय अग्राख हाल्दा दुई लाखदेखि साढे दुई लाख रूपैयाँ लाग्ने देखिन्छ।
त्यस्तै एउटा झ्यालमा तीनटा पल्ला हुन्छन्। पल्लाको फ्रेम बनाउने काठमा दुई लाख ३५ हजार रूपैयाँसम्म चाहिन्छ।
पन्ध्रवटा झ्यालमा सादा सिसा हाल्दा तीस हजार रूपैयाँसम्म चाहिन्छ। जाली पल्ला पनि राख्ने हो भने खर्च बढ्छ।
६ वटा बाथरूमका झ्यालको चौकोस, पल्ला र सिसा गरी ६० हजार रूपैयाँ खर्च हुने देखिन्छ।
अब काठको ढोकाबारे बुझौं।
इञ्जिनियर भट्टराईका अनुसार साढे दुईतले घरमा १७-१८ वटा भित्री ढोका हुन्छन्। यी ढोका सात फिट उचाइ र तीन फिट चौडाइका हुन्छन्। बरन्डा र बाथरूमको ढोका भने साढे दुई फिट चौडाइ र ७ फिट उचाइको हुन्छ।
एउटा ढोकाको चौकोसमा आठदेखि नौ हजार रूपैयाँ लाग्छ। त्यसैले सबै चौकोसमा एक लाख ३५ हजार रूपैयाँसम्म छुट्ट्याउनुपर्छ। ढोकाको खापा (पल्ला) आजभोलि तयारी किन्न पाइन्छ। सामान्य खालको हाल्दा ७० हजार रूपैयाँ जतिले पुग्छ।
घरको मुख्य ढोका आठ फिट उचाइ र ४ फिट चौडाइको हुन्छ। त्यसमध्ये एक फिटमा भेन्टिलेसन राखिन्छ। जाली खापा पनि राखिने भएकाले यसमा मोटो काठ हालिन्छ।
मुख्य ढोकामा नेपाली अग्राखको चौकोस राख्दा २२ देखि २४ हजार रूपैयाँसम्म पर्छ। तयारी खापा अलि डिजाइनदार राख्दा १५ हजार रूपैयाँ जतिमा आउँछ। नेपाली अग्राखकै राख्ने हो भने ६५ हजार रूपैयाँसम्म लाग्छ।
यसबाहेक झ्याल-ढोकामा ह्यान्डल, चुकुल, लक, रङ र ज्यालामा पनि खर्च हुन्छ। सबै गर्दा साढे दुईतले घरमा काठको झ्याल राख्न आठदेखि नौ लाख रूपैयाँ खर्च अनुमान गर्नुपर्छ।
काठको तुलनामा आलुमिनियम र युपिभिसी भने धेरै सस्तो हुन्छ।
आलुमिनियम झ्याल राख्न दुई लाख ७० हजार रूपैयाँले पुग्न सक्छ। यसमा बाथरूमका झ्याल पनि पर्छन्।
त्यस्तै युपिभिसी झ्यालका लागि दुई लाख बीस हजार रूपैयाँ हाराहारी अनुमान गर्नुपर्छ।
'यसमा जाली र सिसा दुवै आउँछ, रंगरोगन गर्न पर्दैन। फिटिङ उनीहरूले नै गरिदिन्छन्,' इञ्जिनियर भट्टराईले भने, 'आवासीय घरमा आलुमिनियम र युपिभिसी ढोका भने खासै प्रयोग हुँदैन। कसैकसैले बाथरूम वा बरन्डातिर भने राख्छन्।'