नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडिए)को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै उक्त साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गरे। उनले उद्योग तथा वाणिज्य मैत्री नीतिगत तथा कानुनी व्यवस्था गर्न महासंघ लागि परेको बताए।
'हामी व्यवसायीहरूको हक हितमा काम गर्ने हो,' उनले भने, 'रियल इस्टेट व्यवसायीहरूको समस्या समाधानका लागि महासंघ कटिबद्ध छ।'
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले पछिल्लो समय रियल स्टेट क्षेत्रमा नैराश्यता देखिएकोले यसमा सुधार ल्याउनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने बताए।
'हदबन्दी छुट दिने, विदेशीलाई अपार्टमेन्ट बिक्री गर्ने, ल्याण्ड पुलिङ आयोजना निजी क्षेत्रलाई सञ्चालन गर्न दिने जस्ता विषयहरूको सम्बोधन गर्न कानुनी व्यवस्था गर्नुपर्छ,' उनले भने।
त्यस्तै, कर्जामा एकल ब्याजदर कायम राखी राख्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनु पर्ने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा कारोबार ठप्प हुँदा बैंकको ब्याज तिर्न व्यवसायीलाई समस्या भएको बताए।
घरजग्गा व्यवसाय चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, संघका अध्यक्ष विदुर धमलाले घरजग्गा व्यवसायीहरूको हित प्रवर्द्धनका लागि काम गर्दै आएको बताए।