नेपाल जग्गा तथा आवास विकास महासंघले रियल स्टेट सम्मेलन-२०२४ आयोजना गर्ने भएको छ। होटल हिमालयमा आगामी आइतबार र सोमबार दुई दिन उक्त सम्मेलन हुने महासंघले जनाएको छ।
सम्मेलनमा घरजग्गासँग सम्बन्धित स्वदेशी र विदेशी गरी दुई सय जना सहभागी हुनेछन्।
'विश्व परिदृश्यमा रियल स्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा' बारे स्वदेशी तथा विदेशी विज्ञ र सहभागीहरूबीच खुला छलफल हुनेछ। सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकसँग अन्तर्क्रिया पनि गरिनेछ।
सम्मेलनबाट रियल स्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे कार्यदिशा तयार गर्न सहयोग पुग्ने महासंघको विश्वास छ।