घरजग्गा एजेन्ट तथा एजेन्सीहरूको छाता संगठन नेपाल रियल स्टेट अर्गनाइजेसनले घरजग्गा कारोबारमा स्टक एक्चेञ्ज जस्तै मल्टी लिस्टिङ प्रणाली सञ्चालनमा ल्याएको छ।
घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरूलाई व्यवस्थित र पारदर्शी बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो।
मल्टी लिस्टिङ प्रणलीमार्फत् कार्य गर्दा कारोबार छिटो हुने, कानुनी झन्झट नहुने, किन्ने/बेच्ने र एजेन्टले गलत कार्य गर्ने सम्भावना न्यून हुने, सरकारी करमा वृद्धि हुने लगायतका फाइदा पुग्ने संस्थाका अध्यक्ष पूर्णिमा राजभण्डारीले जानकारी दिइन्।
यस प्रकारको प्रणाली आगामी दिनमा सरकारले नै लागू गर्नुपर्ने उनको भनाइ छ।
'सरकारले चाहे यो प्रणली हामी सरकारलाई हस्तान्तरण पनि गर्न सक्छौं,' उनले भनिन्।
घरजग्गा कारोबार एजेन्टहरूमार्फत् नै गर्नुपर्ने अर्गनाइजेसनका वरिष्ठ सल्लाहकार डा. ओम राजभण्डारीले बताए।
'डेभलपरले डेभलप मात्र गर्ने र त्यस्ता प्रोपर्टीहरू बेच्ने कार्य एजेन्ट तथा एजेन्सीलाई दिनुपर्छ,' उनले भने।
अन्तर्राष्ट्रियस्तरमा घर जग्गा व्यवसाय तीव्र व्यवसायिकता तर्फ बढिरहेको र नेपालमा पनि घरजग्गा व्यवसायलाई त्यस्तो व्यवसायिकता तर्फ उन्मुख गराउन आगामी वैशाख २३ र २४ गते नेपाल रियल स्टेट कन्फ्रेन्स हुन लागेको समेत उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै संस्थाका अर्का सल्लाहकार प्रकाश तिवारीले स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न परिरहेको असहजतालाई सहज बनाउन भूमिका खेल्न सक्ने तर्फ ध्यान दिन आग्रह गरे।
अर्गनाइजेसनका महासचिव तथ प्रवक्ता विनोद सुवेदीले समग्र अर्थतन्त्र सुस्ताइरहेको बेलामा घरजग्गा व्यवसायमा पनि असर परेको तर यस्तो अवस्थामा समेत एजेन्ट तथा एजेन्सी धैर्यताका साथ काम गरिरहेको बताए।
उनले नेपाल रियल स्टेट अर्गनाइजेसनले हालसम्म संस्थामा आवद्ध सदस्यहरूलाई मर्यादित बनाउन संस्थाको आचारसंहिता लागू गरिएको, घर जग्गा एजेन्ट तथा एजेन्सीहरूको लागि सर्वमान्य कमिसन दर निर्धारण गरिएको जानकारी दिए।