तपाईंलाई इँटाबाट घर बनाउन मन छैन भने अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लक राम्रो विकल्प हो।
पर्खाल वा घरको गारो लगाउन एएसी ब्लक र बोर्ड सहज पनि हुन्छ।
एएसी ब्लक २०७२ को भुइँचालोपछि बढी प्रयोगमा आएको हो। अहिले आवासीयदेखि ठूला भवन र जलविद्युत आयोजना निर्माणमा पनि यस्ता ब्लक धेरै प्रयोग हुने व्यवसायीहरू बताउँछन्।
जर्मन प्रविधिबाट नेपाल भित्रिएको एएसी ब्लक परम्परागत इँटाभन्दा झन्डै आधा हलुका, कम खर्चिलो र आकर्षक भएकाले धेरैको रोजाइमा परेको उनीहरूको दाबी छ।
परम्परागत इँटाको साटो प्रयोग हुने ब्लकहरू भनेका एएसी, कंक्रिट र होलो हुन्। प्रकारअनुसार यिनको प्रयोग पनि फरक हुन्छ। कंक्रिट ब्लक सिमेन्टबाट बनेको हुन्छ जुन गोदामहरू बनाउन प्रयोग गरिन्छ। निर्माण व्यवसायीहरूका अनुसार यसको घनत्व बढी हुने भएकाले ठूला भवन बनाउन प्रयोग हुँदैन।
होलो ब्लक अस्थायी संरचना बनाउन प्रयोग हुन्छ। यसमा सिमेन्टको मात्रा कम हुन्छ। बालुवा र गिटी धेरै मिलाएर बनाइएको हुन्छ।
एएसी ब्लक भने आवासीय घरदेखि ठूला भवन बनाउन प्रयोग हुन्छ। यो हामीले चलाउँदै आएको माटोको इँटा जस्तै आयातकार नै हुन्छ। तर माटोको इँटाभन्दा ठूलो र हलुका हुन्छ।
आज हामीले आवासीय घर बनाउन चाहिने एएसी ब्लकबारे जानकारी दिएका छौं। एएसी ब्लक/बोर्ड बिक्रेता र व्यवसायीहरूले दिएको जानकारीका आधारमा हामीले यो लेख तयार पारेका हौं। परिमाण र लागत औसतमा उल्लेख गरिएको छ।
एरो ब्रिक्स कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख गोविन्द रिमालका अनुसार जमिनमुनि बाहेक इँटा लगाउन मिल्ने हरेक ठाउँमा एएसी ब्लक लगाउन सकिन्छ। माटोको इँटाको तुलनामा यसको घनत्व कम हुने भएकाले जमिनमुनि भने प्रयोग गर्न नमिल्ने हो।
'यो इँटाभन्दा कमजोर भएर जमिनमुनि प्रयोग गर्न नमिल्ने हो। यसको घनत्व कम हुने भएकाले जगमा प्रयोग नगर्दा राम्रो हुन्छ,' उनले भने।
उनका अनुसार जमिनभन्दा माथिको संरचनामा भने यो ब्लक लगाउन सकिन्छ। एएसी ब्लक खरानी, चुना, सिमेन्ट, जिप्सम र आलुमिनियम पाउडर मिलाएर बनाइएको हुन्छ। यसमा तातो र चिसो प्रसार गर्ने क्षमता कम हुन्छ। अर्थात् बाहिरको तातो वा चिसो भित्र कम छिर्छ।
'बाहिर एकदमै चिसो छ भने पनि भित्र कोठामा कम जान्छ। गर्मी छ भने पनि तातो कम जान्छ,' रिमालले भने।
इँटाको तुलनामा एएसी ब्लकमा ध्वनी प्रसार क्षमता पनि पाँच गुणासम्म कम हुने उनले बताए। यसले गर्दा एउटा कोठाको होहल्ला अर्को कोठामा कम सुनिन्छ।
'एएसी ब्लकमा अग्नी प्रतिरोध क्षमता बढी हुन्छ। यसमा कीरा वा धुलिया पनि लाग्दैन,' उनले भने, 'अनि यो एक नम्बरको मात्र बन्ने हुनाले ठगिने डर पनि हुँदैन।'
हाल बजारमा एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाइमा पाइन्छ। मोटाइ भने ४, ६ र ८ इन्च गरी तीन आकारमा उपलब्ध हुन्छ। मोटाइकै आधारमा यसको मूल्य फरक हुन्छ।
एउटा ४ इन्च मोटाइको एएसी ब्लक ९ वटा परम्परागत माटोको इँटा बराबर हुन्छ। त्यसैले खर्च स्वतः कम हुने रिमालले बताए।
इँटाभन्दा ठूलो हुने भएकाले यो ब्लकबाट निर्माण गर्दा समय पनि बचत हुन्छ। समय बचाउन सकिने हुँदा श्रम खर्च कम गर्न सकिन्छ।
त्यस्तै ब्लकको बाहिरी सतह चिल्लो हुन्छ, प्लास्टर गर्न पर्दैन। सिधै रङ लगाए हुन्छ। आकार एकनासको हुने भएकाले प्रयोग गर्न सजिलो छ। ब्लक संख्या नै कम लाग्ने भएकाले हरेकको जोडाइमा लाग्ने मसला (सिमेन्ट-बालुवाको मिश्रण) इँटाको तुलनामा आधा कम हुन्छ।
त्यस्तै रातो इँटाको तुलनामा टुटफुट भएर खेर जाने सम्भावना पनि यसमा कम हुने उनले बताए।
हाल काठमाडौंमा चार इन्चको एएसी ब्लक १३० रूपैयाँ गोटादेखि पाइन्छ। ब्रान्डअनुसार भाउ फरक पर्छ।
रिमालका अनुसार एरो ब्रिक्स कम्पनीबाट उत्पादित एरोलाइट ब्रान्डको एएसी ब्लकको मूल्य भने भ्याट र ढुवानीसहित चार इन्च मोटाइको १४४ रूपैयाँ, ६ इन्चको २१६ रूपैयाँ र ८ इन्चको २८८ रूपैयाँ पर्छ।
हामीले यहाँ यही मूल्यलाई आधार मानेर हिसाब गरेका छौं।
साढे दुईतले घरमा एएसी ब्लक कति चाहिन्छ, खर्च कति लाग्छ भन्नेबारे हामीलाई एरो ब्रिक्सका निर्देशक तथा आर्किटेक्ट इञ्जिनियर सुवास अधिकारीले जानकारी दिएका छन्।
यहाँ नौ सय वर्गफिट जमिनमा बन्ने साढे दुईतले घरका लागि लागत अनुमान गरिएको छ।
यो क्षेत्रफलमा बन्ने प्रायः घरका बेडरूमको लम्बाइ र चौडाइ १२/१२ फिट हुन्छ। लिभिङ-रूम १५ फिट लम्बाइ र १२ फिट चौडाइको हुन्छ। भान्साको लम्बाइ र चौडाइ दुबै ९/९ फिट हुन्छ। त्यस्तै डाइनिङ-रूमको लम्बाइ र चौडाइ १२/१२ फिट हुन्छ। बाथरूम भने ६ फिट लम्बाइ र ५ फिट चौडाइका हुन्छन्।
यसको भुइँतलामा एउटा लिभिङ-रूम, एउटा भान्सा, एउटा डाइनिङ-रूम, एउटा बेडरूम र एउटा कमन बाथरूम हुन्छ।
पहिलो तलामा पनि भुइँतलाकै डिजाइन हुन्छ।
अनि सबभन्दा माथिल्लो तलामा दुइटा बेडरूम हुन्छ। एउटा कोठामा अट्याच्ड बाथरूम हुन्छ भने अर्को कमन बाथरूम हुन्छ। यसबाहेक लन्ड्रीरूम, पूजाकोठा र बाँकी भाग कौसी हुन्छ।
'सबभन्दा पहिले त कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने भन्ने निधो गर्नुपर्छ। झ्याल, ढोका र घरको डिजाइनले ब्लक कति चाहिन्छ भन्ने फरक पर्छ,' आर्किटेक्ट इञ्जिनियर अधिकारीले भने।
उनका अनुसार झ्याल धेरै राखियो भने ब्लक कम लाग्छ, थोरै राखे बढी लाग्छ। सामान्यतया प्रत्येक कोठामा दुइटा झ्याल र एउटा ढोका हुन्छ।
त्यस्तै, ब्लकको परिमाण घरमा बन्ने कोठा र ट्वाइलेट/बाथरूमको संख्यामा पनि निर्भर हुन्छ। बंग्लोमा खुला स्थान तथा कम बेडरूम हुने हुँदा कम ब्लक लाग्छ। फ्ल्याट तथा डुप्लेक्स सिस्टममा बनेका घरमा भने ब्लक बढी लाग्छ।
अधिकारीका अनुसार माथि उल्लिखित विवरणको घर बनाउन तीन हजार वटा एएसी ब्लक आवश्यक पर्छ।
'बाहिरी गारोमा १८ सय वटा र भित्री गारोमा १२ सय वटा ब्लक लाग्छ,' उनले भने, 'घरमा सबै कोठामा अट्याच्ड ट्वाइलेट/बाथरूम छ भने ब्लकको संख्या बढ्न सक्छ।'
घर बनाउन सामान्यतया बाहिरी गारो ८ इन्च र भित्री गारो ६ वा ४ इन्चको राख्ने अभ्यास छ। तर एएसी ब्लकको पूर्ण फाइदा पाउन बाहिरी गारो ८ इन्च र भित्री गारो ६ इन्च लगाउन उनी सुझाउँछन्।
'यत्रो गारोले घरको भित्री भागलाई पूर्ण रूपमा ओसबाट जोगाउन सकिन्छ र ध्वनी प्रसार कम हुन्छ,' उनले भने।
यसरी साढे दुईतले घर बनाउन यो परिमाणको एएसी ब्लकमा करिब पाँच लाख रूपैयाँ खर्च लाग्छ। घरको डिजाइन र कुन कम्पनीको ब्लक हो भन्नेले खर्च थपघट गराउन सक्छ।