हामीले घर बनाउनुअघि निर्माण सामग्रीको लागत अनुमान गर्यौं भने बजेट छुट्ट्याउन सजिलो हुन्छ।
घरका लागि नभई नहुने निर्माण सामग्रीमध्ये एक सिमेन्ट पनि हो।
आज हामीले अहिलेको भाउमा आवासीय घर बनाउन चाहिने सिमेन्टको परिमाण र लागतबारे जानकारी दिएका छौं।
यसका निम्ति निर्माण सामग्री बिक्रेता र निर्माण व्यवसायीहरूको सहयोग लिएका छौं।
सिमेन्टमा लाग्ने खर्चभन्दा अगाडि हामीले यसको प्रकारबारे थाहा पाउन जरूरी हुन्छ। बजारमा विभिन्न कम्पनीका सिमेन्ट पाइन्छन्। ब्रान्ड र प्रकार हेरेर मूल्य फरकफरक हुन्छ।
हामीकहाँ निर्माणमा ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग हुन्छन्। छिटो सुक्ने भएकाले निर्माण चाँडै निर्माण सुक्नुपर्ने वा छिटो फर्मा खोल्नुपर्ने ठाउँमा ओपिसी प्रयोग गरिन्छ। लामो समय फर्मा नखोली राख्न सकिने ढलानमा पिपिसी प्रयोग गर्न सकिन्छ।
नेपाल निर्माण सामाग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःका अनुसार अहिले सिमेन्ट प्रतिबोरा १५ देखि ४५ रूपैयाँसम्मले बढेको छ।
माघको अन्तिम सातादेखि उद्योगीले सिमेन्टको मूल्य बढाउन थालेका हुन्।
विद्युत आपूर्ति बन्द हुँदा सिमेन्टको मूल्य बढेको उनको भनाइ छ। अहिले अधिकांश उद्योगमा अघोषित रूपमा विद्युत आपूर्ति बन्द गरिएको छ।
डेढ महिनाअघि उद्योगीले सिमेन्ट प्रतिबोरामा सय रूपैयाँले बढाएका थिए। बढाएको मूल्यमा सिमेन्ट खरिद–बिक्री भएन, स्वतः पहिलेकै मूल्य कायम भयो।
एकैपटक धेरै मूल्य बढाउँदा सिमेन्ट बिक्री नभएपछि अहिले थोरै थोरै दरमा मूल्य बढाउन थालेका छन्।
शिवम् सिमेन्टले १५/१५ रूपैयाँका दरले तीनपटक मूल्य बढाएर प्रतिबोरा ६ सय ७० रूपैयाँ पुर्याएको छ। त्यसअघि ६ सय २५ रूपैयाँ थियो।
त्यस्तै सौर्य र रिद्धिसिद्धिले प्रतिबोरा २०/२० रूपैयाँ, युनाइटेड, ह्वासिन र होङ्सीले प्रतिबोरा १५/१५ रूपैयाँका दरले मूल्य बढाएका छन्। यी सिमेन्टले भने एकैपटक मूल्य बढाएका हुन्।
यसरी मूल्य बढाउँदा यी सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ३५ देखि ६ सय ४० रूपैयाँ पुगेको छ। यसअघि ६ सय २० देखि ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको थियो।
यो ओपिसीको मूल्य हो। पिपिसी भने ओपिसीको तुलनामा ९० देखि एक सय रूपैयाँ सस्तो हुन्छ।
साढे दुईतले घर बनाउन कति सिमेन्ट चाहिन्छ र यसमा कति पैसा छुट्ट्याउनुपर्ला त?
हामीलाई यसबारे डाउनटाउन हाउजिङ कम्पनीका इञ्जिनियर आशिष विष्टले जानकारी दिएका छन्।
यहाँ नौ सय वर्गफिट क्षेत्रफलमा बन्ने घरको लागत अनुमान गरिएको छ।
सिमेन्टको अनुमान घरमा राखिने पिलर, बिम र फिनिसिङले निर्धारण गर्छ। नौ इन्चको गारो लगाउँदाभन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। तर सकेसम्म नौ इन्चकै गारो लगाएर बाह्रवटा पिलर राख्न इञ्जिनियर विष्ट सुझाउँछन्। यस्तो गर्दा घर बलियो हुने उनले बताए।
घरमा टायल मार्बल नराख्ने हो भने सिमेन्ट झनै कम लाग्छ। तर आजभोलि सहरी क्षेत्रका अधिकांश घरमा टायल-मार्बल राखिन्छ। तत्काल बजेटले नभ्याए टायल-मार्बल पछि राख्न पनि मिल्छ। तर पछि खर्च बढ्छ।
त्यस्तै पर्खाल (कम्पाउन्ड) लाउन पनि सिमेन्ट चाहिन्छ।
इञ्जिनियर विष्टका अनुसार नौ इन्चको गारो र बाह्रवटा पिलर राखेर साढे दुईतले घर बनाउन ओपिसी र पिपिसी गरी १५ सय बोरा सिमेन्ट लाग्छ।
'यति सिमेन्ट भए टायल-मार्बल र कम्पाउन्ड लगाउन समेत पुग्छ,' उनले भने।
अहिलेको भाउअनुसार साढे दुईतले घरमा चाहिने १५ सय बोरा सिमेन्टका लागि साढे ९ लाखदेखि १० लाख रूपैयाँ खर्च हुने देखिन्छ।
यो लागत अनुमान काठमाडौंमा बन्ने घरलाई केन्द्रित गरिएको हो। सिमेन्ट कारखाना नजिक भएका ठाउँ र ढुवानी अनुसार खर्च थपघट हुन सक्छ।
सिमेन्ट किन्दा यी कुरामा ध्यान दिनुहोस्
सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा उत्पादन गरिएको हप्ताअनुसार मिति लेखिएको हुन्छ।
यदि सिमेन्ट २०८० साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०८० र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०८० र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०८० सालको ५ औं हप्तामा बनेको हो। बनेको मितिबाट तीन महिनाभित्र प्रयोग हुने हिसाबले किन्नुपर्छ।
त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।
सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने समस्या आउँछ वा संरचना कमजोर हुन्छ।