चालु आर्थिक वर्षको माघ महिनामा घरजग्गा कारोबार बढेको छ।
गत वर्ष माघ महिनामा भएको कारोबारको तुलनामा यो वर्ष २३.९७ प्रतिशतले कारोबार बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष माघ महिनामा देशभर ४१ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो। यस वर्ष सोही अवधिमा ५० हजार ९ सय २१ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो कारोबार गत महिना पुसको तुलनामा पनि १२.४७ प्रतिशतले बढी हो। पुस महिनामा ४५ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।
नीतिगत सुधार तथा घट्दो ब्याजदरका कारण घरजग्गाको कारोबार उकालो लागिरहेको छ। तर कारोबार बढ्दा पनि राजस्व भने घटेको देखिन्छ।
गत वर्ष माघ महिनामा ४१ हजार संख्यामा घरजग्गा किनबेच हुँदा सरकारलाई तीन अर्ब ६९ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।
यस वर्ष माघमा ५० हजारको संख्यामा घरजग्गा किनबेच हुँदा पनि राजस्व भने तीन अर्ब ३७ करोड रूपैयाँ मात्रै प्राप्त भएको छ। यो गत वर्षको तुलनामा ८ प्रतिशतले कम हो।
गत महिना पुसको तुलनामा भने ५.३२ प्रतिशतले बढी हो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
आर्थिक मन्दीका कारण थोरै मूल्यका घरजग्गा किनबेच हुँदा राजस्व घटेको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।
'मन्दीले महँगाभन्दा सस्ता प्रपर्टीको खरिद बिक्री बढी भएको छ,' उनले भने, 'त्यसको असर राजस्वमा देखिएको हो।'
उनका अनुसार अहिले धेरै मूल्यका घरजग्गा खरिद–बिक्री भएको छैन। राष्ट्र बैंकको नीतिका कारण धेरै मूल्यका घरजग्गा खरिद बिक्री हुन नसकेको उनको भनाइ छ।
'धेरै मूल्यको घरजग्गा किन्न बैंकबाट ऋण लिनै पर्छ,' उनले भने, 'ऋण लिन ग्राहकले आम्दानी दोब्बर देखाउनु पर्छ।'
नेपाल राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा अन्तर्गत राखेको छ। यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरी पैसा ऋण लिन सकिन्छ।
त्यस्तै, ५० लाख रूपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ६० प्रतिशतसम्म पुर्याइएको छ।
'कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत पुर्याउने हो भने धेरै मूल्यका घरजग्गा बिक्री हुन्छ, राजस्व पनि बढ्छ,' उनले भने।