नेपालको सम्भावित अर्थतन्त्रको आकारको दृष्टिले ५८.६९ प्रतिशत मात्रै औपचारिक अर्थतन्त्रको आकारमा परेको छ। त्रिभुवन विश्वविद्यालय अर्थशास्थ विभागले गरेको अध्ययनले सन् २०२०/२१ सम्म अनौपचारिक अर्थतन्त्रको हिस्सा ४१.३१ प्रतिशत पुगेको देखाएको छ।
अर्थशास्त्र विभागले मुद्रा माग विधि र राष्ट्रिय लेखा विधिबाट अध्ययन गरेको थियो। जसअनुसार मुद्रा माग विधिको आधारमा ४१.३१ प्रतिशत र राष्ट्रिय लेखा विधिको आधारमा ३८.६० प्रतिशत अर्थतन्त्र अनौपचारिक मानिएको छ।
'अनौपचारिक अर्थतन्त्रको आकार ४०-४२ प्रतिशत हुनु भनेको धेरै हो। अनौपचारिक अर्थतन्त्रको आकारलाई क्रमश: घटाउदै लैजानु पर्दछ। यो राम्रो नराम्रो व्याख्या होइन अनौपचारिक अर्थतन्त्रका पनि अर्थतन्त्रमा देनहरु छन्। त्यसलाई मान्यता दिनुपर्छ। मूलधारमा ल्याउनुपर्छ,' अध्ययन निष्कर्षमा भनिएको छ।
अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुनुमा कृषि क्षेत्रको योदान बढी देखिको छ। कुल औपचारिक अर्थतन्त्रको आकारमा कृषिको योगदान २४ प्रतिशत रहेको छ। यो अध्ययनले कृषि, वन तथा मत्स्य क्षेत्रको सम्भावित अर्थतन्त्रको आकारका दृष्टिले ३.५२ प्रतिशत मात्रै औपचारिक अर्थतन्त्रमा गणना भएको देखाएको छ। अर्थात् ९६.४८ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा देखिएको छ।
'कृषि क्षेत्र (वन र माछा मार्ने समेत) अन्तर्गतका अधिकांश उत्पादन गतिविधिहरू घरपरिवारद्वारा सञ्चालित छन् र त्यसैले अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ,' अध्ययनमा भनिएको छ।
त्यस्तै घरजग्गा क्षेत्रको अर्थतन्त्र पनि औपचारिक अर्थतन्त्रमा नगन्य मात्रै गणना भएको देखिएको छ। यो अध्ययन अनुसार घरजग्गा क्षेत्रको अर्थतन्त्रको सम्भावित आकारको दृष्टिले ०.३ प्रतिशत मात्रै औपचारिक क्षेत्रमा गणना भएको देखिएको छ। अर्थात् ९९.९७ प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्रको देखिएको छ।
'अधिकांश हिस्सा घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू पर्दछन, जसलाई यस अध्ययनमा अनौपचारिक अर्थतन्त्र मानिन्छ। त्यसैगरी, जग्गा कारोबार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा छ। यो कुरा नेपालमा सामान्य मानिन्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'जग्गाको खरिद सम्पत्ति लुकाउने मध्यम भएको छ। लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ।'
प्रतिवेदन अनुसार अर्थतनेत्रको आकार मापन गर्ने १८ क्षेत्रमध्ये सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको अर्थतन्त्र सबै औपचारिक देखिएको छ। अर्थात् अनौपचारिक अर्थतन्त्र देखिएको छैन।
वित्त र बिमामा ०.११, सूचना तथा सञ्चारमा ०.१३, शिक्षामा ०.१९, स्वास्थ्य र सामाजिक कार्यमा ०.३३, यातायात तथा गोदाममा ०.६३ प्रतिश अनौपचारिक रहेको छ। पानी तथा सरसफाइ २.१४, पेशागत क्रियाकलाप ३.१० खानी तथा उत्खनन ४.९६, प्रशासनिक सहयोगी क्रियाकलाप ८.६६ प्रतिशत अनौपचारिक देखिएको छ।
व्यापारमा १४.८७, विद्युत तथा ग्यास १४.९९, निर्माण १६.२६, उद्योग १६.३६, कला मनोरञ्जन ३३.६९ प्रतिशत अनौपचारिक देखिएको छ।
त्यस्तै भोजन तथा आवास ५०.४२,कृषि वन तथा मत्स्य ९६.४८ र घरजग्गा ९९.९७ प्रतिशत अनौपचारिक रहेको अध्ययनले देखाएको छ।