पुस महिनामा घरजग्गाको कारोबारमा सुधार देखिएको छ।
मंसिर महिनामा घरजग्गाको कारोबारको क्रममा रजिष्ट्रेसन दस्तुर बापत सरकारले एक अर्ब ९५ करोड रूपैयाँ आम्दानी गरेकोमा पुसमा यस्तो रकम बढेको छ।
पुस महिनामा घरजग्गाको कारोबारको क्रममा २ अर्ब १२ करोड रूपैयाँ रजिष्ट्रेसन दस्तुर उठेको हो। मंसिरको तुलनामा यसमा ८.३३ प्रतिशतले वृद्धि भएको छ।
काठमाडौंमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको छ। काठमाडौंको चावहिल, टोखा, डिल्लीबजार, साँखु र कलंकी मालपोत कार्यालयबाट पुस महिनामा ४६ करोड ५५ लाख रूपैयाँ बराबरको रजिष्ट्रेसन दस्तुर उठेको छ।
काठमाडौंमा एक हजार सात सय ६३ पटक घरजग्गा कारोबार (लिखित पारित) र एक सय ५१ वाट नामसारी भएको छ।
ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ। यहाँ रजिष्ट्रेसन दस्तुरबापत १६ करोड ६१ लाख रूपैयाँ उठेको छ।
भक्तपुरमा आठ सय ७७ पटक घरजग्गा कारोबार र ७० वटा नामसारी भएको छ। भक्तपुरमा रजिष्ट्रेसन दस्तुरबापत १२ करोड ५३ लाख रकम उठेको छ।
संख्याको आधारमा मोरङमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको छ। यो जिल्लामा दुई हजार ८ सय ७३ वटा लिखित पारित भएको छ। यो जिल्लामा रजिष्ट्रेसन दस्तुरबापत ९ करोड २९ लाख रकम उठेको छ।