बिहीबारदेखि भृकुटीमण्डपमा घरजग्गा मेला सुरू भएको छ।
मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरूले आफ्नो उत्पादन तथा सेवा प्रदर्शनमा राखेका छन्।
मेलाका अवसरमा केही कम्पनीले घर तथा जग्गा खरिदमा छुट योजना ल्याएका छन्।
हेरौं कुन कम्पनीमा कस्तो छुट पाइन्छः
१. डाउनटाउन हाउजिङ कम्पनी
डाउनटाउन हाउजिङ कम्पनीले ग्राहकलाई बिना ब्याज किस्ताबन्दीमा घर योजना ल्याएको छ।
उक्त योजना अनुसार ग्राहकले कुल रकमको ४० प्रतिशत पैसा तिरेपछि तीन वर्षका लागि किस्ताबन्दीमा घर पाउनेछन्।
यो योजना धापाखेलस्थित डाउनटाउन रेसिडेन्सी परियोजनाको लागि हो। यो परियोजना एक सय दुई रोपनी क्षेत्रफलमा छ।
ग्राहकलाई घर किन्दा बैंकिङ समस्या नहोस् भनेर कम्पनीले बिना ब्याज किस्ताबन्दीमा घर योजना ल्याएको कम्पनीका अध्यक्ष मिनमान श्रेष्ठले जानकारी दिए।
'हामीसँग थुप्रै परियोजना छन्। भर्खर सुरू गरेकाले यहाँ यो अफर दिएका हौं,' उनले भने, 'साथै २२ प्रतिशत छुट पनि छ।'
यो परियोजना मध्यम वर्गदेखि उच्च वर्गलाई लक्षित गरी सञ्चालन गरिएको छ। यहाँ साढे दुई आना क्षेत्रफलदेखि १० आना क्षेत्रफलसम्मका घर पाइन्छ।
'क्षेत्रफल अनुसार घरको मूल्य फरक हुन्छ,' उनले भने, 'ग्राहकले कति क्षेत्रफलमा घर चाहन्छन्, त्यही अनुसार मासिक किस्ता निर्धारण हुन्छ।'
उनका अनुसार ग्राहकले आफूले लिने घरको मूल्यको ४० प्रतिशत पैसा दिएपछि कम्पनीले ग्राहकलाई जग्गा पास गरी दिनेछ। जग्गा पास भएको १८ देखि २४ महिनाभित्रमा कम्पनीले घर तयार गरेर ग्राहकलाई दिनेछ। त्यसबीचमा ग्राहकले कम्पनीलाई मासिक किस्ता भने बुझाउन पर्नेछ।
'त्यसका लागि कम्पनी र ग्राहकबीच लिखित सम्झौता हुन्छ,' उनले भने, 'लगातार पहिलो तीन किस्तासम्म तिर्न नसकेको खण्डमा हामी सबै पैसा फिर्ता गरिदिन्छौं र जग्गा कम्पनीकै नाममा ल्याउँछौं।'
यहाँ ग्राहकले न्यूनतम एक करोड ९९ लाखदेखि साढे ८ करोडसम्मका घर पाउनेछन्। यो छुट सहितको मूल्य हो।
साढे दुई तलामा बन्ने यो घरमा ग्राहकले पहिलो तलामा लिभिङ, किचन, डाइनिङ र एक बाथरूमको सुविधा पाउनेछन्।
त्यस्तै, दोस्रो तलामा दुइटा बेडरूम, दुई बाथरूम (जसमा अट्याज बाथरूम सहितको एक मास्टर बेडरूम र कमन बेडरूम/बाथरूम हुनेछन्) र एक फ्यामिली रूमको सुविधा हुनेछ।
माथिल्लो तलामा भने टपमा एउटा बेडरूम, मल्टी पर्पोज रूम, बाथरूम र पुजा कोठा हुनेछ।
घर नलिने ग्राहकका लागि कम्पनीले जग्गा मात्रै लिन पाउने सुविधा पनि दिएको छ। तर त्यसका लागि भने ग्राहकले सुरूआतमै ५० प्रतिशत रकम कम्पनीलाई बुझाउन पर्नेछ।
'अहिले जग्गा लिन्छु पछि घर बनाउँछु भन्न पनि पाइन्छ,' उनले भने, 'तर पछि घर बनाउँदा कम्पनीकै डिजाइन अनुसार नै बनाउन पर्छ, परिवर्तन गर्न पाइँदैन।'
उनका अनुसार यहाँ जग्गाको मूल्य प्रति आना ५५ लाख रूपैयाँ छ। छुट योजना अनुसार ग्राहकले ४२ लाख आनामा पाउनेछन्। छुट योजना मेला अवधिभर मात्रै पाइने कम्पनीले बताएको छ।
२. नेपाल रियलस्टेट म्यानेजमेन्ट कम्पनी
यो कम्पनीले घर तथा जग्गा खरिदमा १५ प्रतिशतसम्म छुट योजना ल्याएको छ।
कम्पनीले यो छुट योजना चागुनारायण र भैंसेपाटी हाउजिङ परियोजनाका लागि ल्याएको हो।
चागुनारायणमा एक सय ४२ युनिट छन् भने भैंसेपाटीमा ५५ युनिट छन्।
कम्पनीका सिइओ रोशन भयाद्योका अनुसार चागुनारायणमा जग्गाको मूल्य प्रतिआना २९ लाख ५० हजार रूपैयाँ छ भने भैंसेपाटीमा प्रतिआना ४२ लाखदेखि ५० लाख रूपैयाँसम्मका जग्गा छन्।
ग्राहकले यहाँ न्यूनतम तीन आना एक पैसा क्षेत्रफलमा बनेका घर तथा जग्गा लिन सक्नेछन्।
घर लिँदा जग्गामा १५ प्रतिशत छुटका साथै निःशुल्क इञ्जिनियरिङ सेवा पाइने उनले बताए।
उनका अनुसार ग्राहकले आफूसँग भएको घर तथा जग्गा कम्पनीको घर तथा जग्गासँग साट्न पनि सक्नेछन्।
'हामी ग्राहकको घर तथा जग्गाको मूल्यांकन गर्छौं। त्योअुनसार ग्राहकले आफ्नो सम्पत्ति साट्न सक्छन्,' उनले भने।
मेलामा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले क्यासब्याक अफर पनि ल्याएको छ। जसमा ग्राहकले बुकिङ गर्दा सुरूमा ९९ हजार पैसा दिनु पर्नेछ।
'साइट भिजिट गर्दा ग्राहकलाई चित्त नबुझे हामी एक लाख फिर्ता गरिदिन्छौं,' उनले भने।
३. भूमी डेभलपर्स
यो कम्पनीले गोदावारीको हाउजिङ खरिदमा ५० लाख रूपैयाँ छुट योजना ल्याएको छ। कुल ४० रोपनीमा निर्माण गरिएको यो परियोजनामा ७२ घर बन्नेछन्। ती सबै घर साढे दुई तलाका हुन्।
यहाँ ग्राहकले ५ आना देखि ११ आनासम्ममा बनेका घर खरिद गर्न सक्ने कम्पनीका निर्देशक विजय अग्रवालले जानकारी दिए। यी घर न्यूनतम ४ करोडदेखि ६ करोड रूपैयाँसम्मका छन्।
'मेला अवधिभरका लागि ५० लाख छुट दिएका छौं,' अग्रवालले भने, 'पछि छुट दिन्छौं कि दिदाैँनाैं अहिले भन्न सकिन्न।'
ग्राहकले बुक गरेको दुई वर्षमा कम्पनीले घर तयार गरेर हस्तान्तरण गर्नेछ।
घरमा ग्राहकले लिभिङ रुम, किचेन, फ्यामली रुम, पूजा कोठा मल्टी पर्पोज रूम, अट्याज वाथ रूम, कमन बाथरूम लगायतका सुविधा पाउने छन्। यस परियोजनाभित्र आठ मिटर र ६ मिटर चौडाइका बाटोहरू छन्।
हाउजिङ परियोजनाभित्र चिल्ड्रेन पार्क, चार लेनको मुख्य बाटोसम्म पहुँचमार्ग, हेल्थ क्लब, कम्युनिटी हल, विद्युतीय गाडीका लागि व्यक्तिगत चार्जिङ स्टेसन तथा बैंक्वेट हल लगायतका सुविधा छन्।
'हेल्थ क्लबमा केही समस्या आयो भने कम्पनी आफैंले बनाइदिन्छ। ग्राहकले शुल्क तिर्नुपर्दैन,' अग्रवालले भने।
४. हाइभिजन ल्याण्ड हाउजिङ एण्ड ट्रेडर्स कम्पनी
यो कम्पनीले घर तथा जग्गा खरिदमा नगद छुट योजना ल्याएको छ।
कम्पनीको हाइभिजन कोलोनी र जल विनायक कोलोनी जग्गा तथा घर लिँदा नगद छुट दिइने कम्पनीकी महाप्रबन्धक हिरू रानाले जानकारी दिइन्।
'हामीले ग्राहकलाई घर तथा जग्गा खरिदमा क्यास छुट योजना ल्याएका छौं,' उनले भनिन्, 'घर खरिदमा १६ लाख र जग्गा खरिदमा ११ लाख रूपैयाँ पाइन्छ।'
उनका अनुसार ग्राहकले कोलोनीमा जग्गा प्रतिआना ३५ लाखदेखि ६० रूपैयाँसम्मका पाउने छन्।
त्यस्तै, साढे तीन आना देखि आठ आनासम्ममा बनेका घरको मूल्य तीन करोड देखि ८ करोड रूपैयाँसम्म छ।
यो छुट योजना पुस मसान्तसम्म पाइने कम्पनीले जानकारी दिएको छ।
५. प्रसिद्धि रोहनी रियलस्टेट कम्पनी
यो कम्पनीले घरजग्गा मेलामा बुक गर्ने ग्राहकलाई प्रतिआना २ लाख रूपैयाँ नगद छुट योजना ल्याएको छ।
कम्पनीका प्रोपाइटर राजकुमार राईका अनुसार यो छुट योजना नगरकोट ड्रिम सिटीमा परियोजनाका लागि ल्याएइएको हो।
कुल ४१ रोपनी क्षेत्रफलमा सञ्चालित यस योजना परियोजनामा ५ आनादेखि ११ आनासम्मका ७५ वटा युनिट छन्।
यहाँ जग्गा प्रतिआना १५ लाख र १३ लाख रूपैयाँका छन्।
'यहाँ ग्राहकले जग्गा मात्रै लिने हो। हामीले घर बनाइ दिदाैँनौं,' उनले भने।