काठमाडौमा आठौं रियल स्टेट एक्सपो हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आगामी पुस १२ गतेदेखि १५ गतेसम्म रियल स्टेट एक्सपो हुने भएको हो।
घर निर्माणमा आएका नयाँ प्रविधिको विषयमा जानकारी गराउने उद्देश्यले रियल स्टेट एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष बिदुर धमलाले जानकारी दिए।
एक्सपो रियल स्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबिच एकै स्थलमा भेट हुने महत्त्वपूर्ण बिन्दु हुने उनको भनाइ छ।
एक्सपोमा जग्गा विकासकर्ताले आफ्ना नयाँ उत्पादनहरू उपभोक्तालाई प्रदर्शन गर्ने छन्। त्यस्तै, उपभोक्ताले आवास तथा जग्गा विकाससम्बन्धी जानकारी पाउन सक्नेछन्।
एक्सपोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन्।
एक्सपोमा करिब एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ।