५० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको गोर्खा चाइनिज इँट्टा उद्योगले उत्पादन सुरू गरेको छ। गोरखा इको रेड ब्रिक्स प्रालिले काभ्रेको बाँसडोलमा स्थापना गरेको उद्योगबाट इँट्टा विक्री सुरू गरेको हो।
चाइनिज इँट्टाको अहिलेसम्मकै आधुनिक प्रविधिबाट उत्पादन गरिएकाले यसका विशेषता र मूल्यमा उपभोक्ताले विशेष राहत पाउने उद्योगका लगानीकर्ता कृष्णभक्त दुवालले जानकारी दिए।
इँट्टाको साइज
उनकाअनुसार इँट्टाको गोर्खा चाइनिज इँट्टा ९.५ इन्च लामो, ४.५ इन्च चौडा र २.२५ इन्च अग्लो हुन्छ। सतह सबैतिर उत्तिकै सतह मिलेको यो इँट्टाले वाल लगाउँदा सबैतिर समान र सजिलो हुने उनको भनाइ छ।
फ्याक्ट्रीबाट इँट्टा दिँदा कुनै पनि टुक्रा नदिने उनले बताए।
'कुनै इँट्टाको बीचमा कालो थोप्ला हुन्छ। जसले वाल लगाउँदा डेकुरेसको काम गर्छ। त्यस्तै हामीले सहज ढुवानी तथा सस्तो लागतमा ठाउँसम्मै पुर्याइदिन्छौं,' उनले भने।
इँट्टाको मूल्य
यो चाइनिज इँट्टाको मूल्य प्रतिगोटा १४ रुपैयाँ पर्ने उनले जानकारी दिए। यसमा कर तथा ढुवानी शुल्क भने जोडिएको छैन।
अहिले स्थानीय इँट्टाको मूल्य बराबर यसको मूल्य राखिएको उनले बताए। अहिले स्थानीय प्रविधिमा उत्पादन भएको सबभन्दा राम्रो इँट्टाको मूल्य १४/१५ रुपैयाँ पर्छ।
स्थानीय प्रविधिबाट उत्पादन भएको इँट्टाको जस्तै मूल्यमा पाइने भएपछि यसबाट घर बनाउँदा लागत घट्ने उनको भनाइ छ।
'मूल्य उस्तै भएपछि यसबाट गारो लगाउने मसलाको खपत कम हुन्छ। समथर सबैतिर मिलेका इँट्टा भएकाले यसमा अन्य इँट्टाको तुलनामा गारो र प्लास्टर गर्दा मसलाको ४० प्रतिशतसम्म न्यून गारो खपत हुन्छ। यसले घरको लागत न्यून बनाउँछ,' उनले भने।
५० करोड लगानी
गोरखा इको प्यानल उत्पादन गरिरहेका दुवालसहितको टिमले स्थापना गरेको उद्योगमा ५० करोड लगानी भएको दुवालले जानकारी दिए।
उद्योगबाट प्रयोगमैत्री इटा उत्पादन हुने र उत्पादनको क्रममा र पछि पनि वातावरणमा कुनै हानी नहुनेगरी प्रविधि प्रयोग गरिने दुवालले जानकारी दिए
१२ महिना नै उत्पादन हुने यो उद्योगमा प्राय: अटोमेसन गरिएको छ। इँट्टा पोल्नका लागि टनेर प्रविधि प्रयोग गरिएको यसमा इँट्टाको कच्चा पदार्थको रूपमा माटो,निर्माणजन्य फोहोर, कोमल पत्थर र कोइला प्रयोग हुन्छन्।
दैनिक १ लाख इँट्टा उत्पादन गर्न सक्ने क्षमता भएको यो उद्योगले मागअनुसार उत्पादन गर्ने दुवालले जानकारी दिए।