विद्यार्थीको एउटा समूह जमिनमुनि पानी सोस्ने ब्लक सम्बन्धी अनुसन्धानमा जुटेका छन् । ख्वप कलेज देकोचा भक्तपुरमा एमएसी तेश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरू जमिनमुनि सोस्ने ब्लकबारे अनुसन्धानमा लागिपरेका हुन् । उनीहरु दैनिक गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि चाँगुरोड भक्तपुरस्थित कारखानामा पुगेर पानी सोस्ने व्लक (पेभर) बारे अनुसन्धानमा जुटेका छन् । पानी सोस्ने व्लक पेभरबाट के कति मात्रामा पानी सोसिरहेका छन् र कसरी यसको प्रयोग गरी जमिनमुनि आकाशे पानी पठाउन सकिन्छ भन्नेबारेमा उनीहरु लागिपरेका हुन् ।
समूहमा सहभागी विद्यार्थी शान्ता चौधरीले पानी सोस्ने व्लकले सोस्ने पानीको मात्राबारे अनुसन्धान गरिरहेको बताइन् । आकाशबाट परेको पानी जमिनमुनि नगई खोलाबाट सिधै समुद्रमा मिसिन जाँदा समस्या भएकाले समस्या समाधानका लागि सहयोग गर्न अनुसन्धान गरिरहेको उनले जनाइन् । आकाशबाट परेको पानी सिधै समुन्द्रमा जाँदा एकातिर यहाँ पानीको समस्या रहेको र अर्कोतिर सडकमा पनि खोला जस्तै पानी वग्दा समस्या भएको उनले सुनाइन् ।
अनुसन्धानस्थलमा पानी सोस्ने व्लक (पेभर) पनि उत्पादन हुन्छ । विद्यार्थीले पेभरलाई ड्रममा राखेर त्यसको तल माटो र बा लुवा राखी पेभरले पानी सोस्नसक्ने क्षमताबारे अनुसन्धान गरिरहेका हुन् ।
गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर राजन दुवालले सडकमा पानी सोस्ने व्लकको प्रयोग गर्न सकिए केही मात्रामा भए पनि यो समस्या समाधान हुने बताए । उनले नीतिगत रुपमै यसको सम्वोधन हुनुपर्ने आवश्यकता औंल्याए ।