नेपालको आवश्यकता पुरा गर्न सक्ने उत्पादन क्षमता हुँदाहुँदै पनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था अब हट्ने भएको छ। ठूला आयोजना निर्माणको लागि ४३ र ५३ ग्रेडको सिमेन्ट आवश्यक पर्ने सरकारी व्यवस्था छ तर नेपाली उद्योगीहरुले त्यस्तो ग्रेड राखेर उत्पादन गर्ने मापदण्ड नभएकोले सिमेन्ट आयात गर्नुपर्ने बाध्यता रहेको थियो।
गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संसोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था ल्याएसँगै सो ग्रेडको सिमेन्ट आयात गर्नैपर्ने बाध्यता हट्ने भएको हो।
लामो समयदेखि नेपाली उद्योगीहरुले सोही व्यवस्थाको लागि सरकारलाई दबाब दिँदै आएको भए पनि अहिले आएर ४३ र ५३ ग्रेडको व्यवस्था भएको हो।
नयाँ मापदण्ड आएपछि नेपाललमा ग्रेडकै कारणले विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने व्यवासयीहरुको अनुमान छ। प्रत्येक वर्ष सिमेन्टको आयात घट्दै गएको र जति आयात भइरहेको छ त्यो पनि ग्रेडकै कारण आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरुको भनाइ छ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भारतबाट आयात हुने सिमेन्टमा कमी आएको छ। साउनदेखि चैतसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले सिमेन्टको आयात घटेको छ। अघिल्लो वर्ष यही अवधिमा २४ अर्बको सिमेन्ट आएकोमा यो वर्ष १२ अर्बको मात्र आएको छ।
देशभित्र पुनर्निमानको काम अगाडि बढेको समयमा सिमेन्टको माग बढे पनि स्वदेशीले नै धानेको कारण आयात खुम्चिदै आएको व्यवसायीहरु बताउँछन्। अहिले जति पनि आयात भएको छ त्यो पनि बढी भाग ४३ र ५३ ग्रेडको सिमेन्ट रहेको उनीहरुको भनाइ छ।
अहिलेसम्म नेपालमा जतिसुकै गुणस्तरको सिमेन्ट उत्पादन गरेपनि त्यसको ग्रेड भने ३३ मात्र हुने व्यवस्था रहेको थियो। सरकारी उदयपुर र हेटौडा सिमेन्ट उद्योगका उत्पादन पनि ५३ ग्रेडभन्दा कम नरहेपनि नेपालमा मापदण्ड नभएकोले ३३ नै लेख्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ।
त्यस्तै अधिकांश निजी कम्पनीहरुले पनि ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको बताउँदै आएका छन्।
नेपालमा पहिले पनि ४३ वा ५३ ग्रेडको सिमेन्ट उत्पादन भएपनि त्यो प्रमाणीत गर्ने कुनै निकाय नहुदाँ त्यसले मान्यता नपाएको तर अब प्रमाणीकरणको व्यवस्था भएको नातौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
'पहिले उनीहरुले विक्री बितरण गरेका थिएनन्,पहिले न्युनतम ३३ भनेपछि बढी कति थियो भन्ने थाहाँ थिएन नेपाली सिमेन्ट कम्पनीले अब उत्पादन गरेर बजारमा ल्याउन पाउनेछन् । अब बोरामा लेखेर बेचिन्छ ' उनले भने।
के हो ग्रेड ?
सिमेन्टको ग्रेड निर्धारण भनेको उक्त सिमेन्टको भारबहन क्षमता हो। कति अवधिमा कति लोड बहन गर्नसक्छ भन्ने मापन नै ग्रेड हो। सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ नै ग्रेड हो। जसले भार बहन गर्नसक्ने बल र समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ। ५३ ग्रेड भनेको ५३ एमएम लोड प्रती वर्ग सिएम बहन गर्न सक्ने बुझिन्छ।