७ औं घरजग्गा मेला राजधानीको भृकुटीमन्डपमा शुरु भएको छ। असार ५ गतेसम्म चल्ने मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उदघाटन गरे।
उद्घाटनका क्रममा उनले खेती योग्य जमिन टुक्र्याउन मात्रै नभई सरकारी योजनालाई सघाउ पु्याउन निर्माण व्यवसायीलाई आग्रह गरे।
कृषि आधुनिकीकरण कार्यक्रम, जोन, सुपर जोन लगायतका लागि ठूलो क्षेत्रफलको जमिन आवश्यक पर्ने भन्दै उनले अनावश्यक टुक्रे गतिविधि रोकिनुपर्ने बताए।
उनले भने ‘पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना छ, हुलाकी राजमार्गमा १० वटा सिटीको योजना छ। सुर्खेत, धरानलाई आधुनिक शहरको रुपमा विकास गर्नुपर्छ।’
सरकारले नीति बनाइदिने र व्यवस्थित सहरको निर्माण व्यवसायीले गर्नुपर्ने उनको भनाइ छ। शहर विस्तारका लागि सरकारले स्थान नतोकेका कारण निर्माण व्यवसायीहरुले घनाबस्ती र सस्तो जग्गामा व्यवसायीक प्रयोजनमुखी आवास निर्माण गरेको उनको आरोप छ।
मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामाग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी लिन पाइने छ।
मेलाका संयोजक विपिन चित्रकारले ३४ लाख रुपैयाँका अपार्टमेन्ट फ्ल्याटदेखि ६ करोड रुपैयाँसम्मका आवासीय घरका नमुना हेर्न तथा खरिद गर्न सकिने जानकारी दिए।
त्यस्तै विभिन्न विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनेटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामानको बारेमा जानकारी लिन र किन्न पाइने छ। बीमा, बैंकिङ्ग तथा वास्तुकला ब्यवसायमा संलग्न ब्यवसायीहरुले पनि आ–आफ्ना उत्पादनहरु प्रदर्शनमा राखेका छन्।
‘घरजग्गाको मूल्य सम्बन्धि धेरैलाई भ्रम छ, हामी राम्रो घर बनाएर सस्तोमा दिन्छौँ’ उनले दावी गरे ‘धेरै जग्गा र निर्माण सामाग्री एकैपटक सस्तोमा किन्छौँ र तयार गरी सस्तोमै बेच्छाँ।’
आफूहरुले व्यवसायिक रुपमा बनाएको भवन भूकम्प प्रतिरोधात्मक हुने भएकाले शंका नगर्न उनले आग्रह गरे। सरकारले पहिलो पटक घर किन्नेको लागि विशेष सुविधा दिनुपर्ने उनले बताए।
मेलाले जानकारी मात्र नभई ग्राहकले कस्तो घर चाहान्छन् भन्ने जानकारी आफुहरुलाई हुने भएकाले त्यसलाई अवलम्वन गर्दै अघि बढ्न सघाउ पुग्ने उनको भनाइ छ।
विशेषज्ञहरुद्वारा सोसम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने आयोजकले जनाएको छ। यस पटकको मेलामा साठ्ठी हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको दावी छ।
तस्वीरः निशा भण्डारी/सेतोपाटी