निर्माण व्यवसायी महासंघले विभिन्न प्रकारका निर्माण सामग्रीमा बढेको मूल्य तत्काल फिर्ता गर्न माग राखेकाे छ।
सिमेन्ट, छड र बालुवामा भएको मूल्य बृद्धिले निर्माण प्रक्रियामात्र रोकिने नभइ समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकोले विनाशर्त बढेको मूल्य फिर्ता गर्न पहल गरिदिन सरकारसँग महासंघले माग गरेको हाे।
व्यवसायीहरुका अनुसार पछिल्लो समय अप्रत्यासित रुपमा सिमेन्ट र स्टील छडको मूल्य बढको छ। निर्वाचनअघि ७८ रुपैयाँ किलोको भएकोमा हाल उक्त स्टिल छडको मूल्य ८५ रुपैयाँ पुगेको छ भने एक बोरा सिमेन्टको मूल्य ८१० बाट ९१० पुगेको महासंघमा महासचिव रामशरण देउजाले जानकारी दिए।
कृषि पछि सबैभन्दा ठुलो जनसंख्या संलग्न निर्माण क्षेत्रमा अप्रत्यासित मूलयबृद्धिबाट प्रभावित भएको भन्दै बिना जानकरी गरिएको मूल्य बृद्धि फिर्ता हुनुपर्ने देउजाले माग गरे।
निर्माणका काम सुरु हुने समयमा वस्तुको अभाव बनाएर मूल्य पनि बढाएको र यसले जसरी पनि नाफा लिने प्रवृत्ति हावी भएको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए।
यसरी मूल्य बढ्दा लागत बढ्ने तर टेन्डर हुँदा एउटा मूल्यमा हिसाब गरिएकोले सरकारले पनि मूल्य समायोजन नगर्ने हुँदा जताबाट पनि आफूहरु पर्ने भन्दै सरकारसँग विभिन्न विकल्प पेस गरेका छन्।
बढेको मूल्यअनुसार समायोजन गरेर रकम बढाउनुपर्ने कि भारतबाट आयात गर्न खुकुरो पार्नुपर्ने उनीहरुको माग छ।
सरकारले सिमेन्ट र छडको कच्चा पदार्थमा केही सहुलियत दिएर तयारी वस्तुको आयातमा उच्चदरको भन्सार लगाएको छ। नेपाली उत्पादनले आत्मनिर्भर भएको भन्दै सरकारले विदेशी तयारी वस्तु आयातमा निरुत्साहित गर्ने नीति लिएको हो।
तर व्यवसायीले नेपालमा पर्याप्त पनि नपाइने पाएपनि मनलाग्दी मूल्य बढाउने भएकोले विदेशबाट ल्याउन खुकुलो व्यवस्था हुनुपर्ने माग गरेका छन्।
सिमेन्ट उत्पादकहरुले भने भारतबाट आउने क्लिंकर र भारतको बाटो भएर आउने कोइलाको मूल्य बढेकोले नेपालमा मूल्य बढेको बताएका छन्। त्यस्तै छडको कच्चा पदार्थ ब्लेड चीनबाट करिकरिब रोकिएको भारतबाट पनि आउनै छाडेको त्यसमा पनि दुबै देशमा मूल्यण् बढेकोले नेपालमा पनि बढेको बताएका छन्।