घर निर्माणको मुख्य समय सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा लागत बढेको छ।
मुख्य निर्माण सामग्रीको मूल्य बढेपपिछ समग्र लागत पनि बढेको छ। सिमेन्ट, छड र वालुवाको मूल्यमा बृद्धि भएसँगै निर्माण लागत पनि बढेको हो।
सिमेन्ट र छडको बिक्रीवितरण गर्ने व्यवसायीहरुका अनुसार पछिल्लो एक महिनाममा छड र सिमेन्टको मूल्य अस्वभाविकरुपमा बढेको छ।उत्पादकहरुसँग सम्बन्ध विग्रने डरले मिडियासँग खुलेर बोल्न नचाहने उनीहरुकाअनुसार पुस २३ गते सिमेन्टको अधिकतम मूल्य प्रतिबोरा १ हजार ५० रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ९५० रुपैयाँ थियो।
महंगो मानिने ओपिसी सिमेन्टको मूल्य ब्रान्ड हेरी मूल्यमा विविधता पाइन्छ। यद्यपी अहिले ठाउँ हेरी ९ सय ८० देखि १ हजार ५० रुपैयाँ मूल्य तोकिएको छ।
त्यस्तो पिपिसी सिमेन्टको मूल्य नै ९ सय रुपैयाँसम्म पुगेको छ। अघिल्लो वर्ष प्रतिबोरा सात सयबाट सुरु हुने सिमेन्टको मूल्यमा १ सय रुपैयाँसम्म बढेको काठमाडौंमा सिमेन्टको खरिदविक्री गर्ने एक व्यापारीले बताए।
त्यस्तै काठमाडौं लगायतका देशभर छडको मूल्य पनि पाँच प्रतिशतले बढेको छ। सामन्यतयार बजारमा ७५ देखि ९५ रुपैयाँ प्रतिकिलो पर्ने छडको मूल्यमा पाँच प्रतिशतले बढेको छ।
सिमेन्ट निर्माणमा आवस्यक कच्चा पदार्थ कोइला, क्लींकर लगायतका सामग्रीको अभाव भएको र केहीमा मूल्य पनि बढेकोले मूल्य बढेको केही उत्पादकहरुले बढाएका छन्।
तर नेपालमै क्लिंकर उत्पादन गर्ने उद्योगका सिमेन्टमा पनि मूल्य बृद्धि भएको बारे भने उत्पादकहरुले कुनै जवाफ दिएनन्।
औपचारिकरुपमा कुनै पनि उद्योगले मूल्य नबढाएको तर बजारमा स्वतस्फूर्त मूल्य घटबढ भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाको भनाइ छ।
‘हामीले औपचारिकरुपमा मूल्य बढाएका छैनौं’ उनले भने,‘तर सबैले मूल्य पनि बढाएका छैनन्,भारतीय क्लिंकरबाट सिमेन्ट उत्पादन गर्नेले बढाएका हुनसक्छन्।’
त्यस्तै बालुवा पनि एक टिप्परको साढे हजारसम्मले मूल्य बढेको छ। अघिल्लो वर्ष २३ हजारमा आउने टिप्परको मूल्य अहिले २७ हजार रुपैयाँसम्म पुगेको कलंकीमा गिट्टी, इटा र बालुवाको व्यापार गर्ने अर्जुन श्रेष्ठले जानकारी दिए। उनका अनुसार इँटा भर्खर उत्पादन सुरु हुने भएकोले तत्काल मूल्य बढेको छैन।
केही निर्माण सामग्रीमा मूल्य बढेपछि घर निर्माणमा लाग्ने सम्पूर्ण लागत पनि प्रभावित हुने देखिएको छ। सिमेन्ट,वालुवा र छडको लागत घर निर्माणमा २० प्रतिशत मान्ने हो भने पनि समग्रमा पाँच प्रतिशत लागत बढ्ने देखिन्छ।
अर्थात कसैको घर कात्तिकसम्म ६० लाखमा निर्माण हुनसक्थ्यो भने अब त्यो बढेर ६३ लाख पुग्ने देखिन्छ।
अघिल्लो वर्षको तुलनामा श्रमिकको ज्यालादर भने बढेको छैन।घर निर्माणमा श्रमिक आपूर्ति गरिरहेका अनिल राईका अनुसार फागुनपछि ज्यालादर बढाउने तयारी भएपनि अहिलेसम्म भने अघिल्लो वर्षकै कायम छ।