यति एयरलाइन्सले अर्को एटिआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ। फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एक अर्बको लगानीमा यतिले एटिआर काठमाडौं भित्र्याएको हो ।
यतिले गत साउन महिनामा पहिलो एटिआर ल्याएको थियो । यो सँगै यतिसँग अब २ बटा एटिआर भएको छ। सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग यतिले जहाज खरिद गरेको प्रवक्ता भिमराज राइले सेतोपाटीलाई जानकारी दिए।
एटिआर जहाजले एक हप्तापछि भद्रपुर र भैरहवा उडान थाल्ने उनले बताए। यतिको पहिलो एटिआरले अहिले विराटनगर र नेपालगंजमा उडान भरिरहेको छ।
‘यो आर्थिक वर्ष भित्र हामीले ३ वटा एटिआर किन्ने योजना गरेका छौं, ‘राईले सेतोपाटीसँग भने, ‘त्यसै स्वरुप पहिलो र दोस्रो जहाज काठमाडौं आइपुगेको छ
यो जहाजसँगै यतिसँग अब ८ वटा जहाज भएको छ। एटिआरलाई विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडाउने र त्यहाँ उड्दै आएका जहाजलाई जनकपुर, भरतपुर, पोखरा लगायतका क्षेत्रको उडानमा जोड दिने राईले बताए।
यतिले ल्याएको जस्तै एटिआर जहाज अहिले बुद्ध एयरसँग ४ वटा छ। हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ।
विस्तारै जेटस्ट्रिम जहाज विस्थापन गर्दै एटिआर नै ल्याउने तयारीमा यति रहेको राईले बताए। पछिल्लो समय आन्तरिक उडान गर्नका लागि जहाज थप्ने होडबाजी एयरलाइन्स कम्पनीहरुमा चलेको छ।
बुद्धले २ वटा सिआरजे २०० जहाज थप्ने योजना बनाएको छ भने यतिले अब २ वटा थप्ने जनाएको छ। सिताले २ थान डोर्नियर, श्री एयरलाइन्सले २ वटा जेट सिआरजे २०० , सौर्य एयरलायन्सले १ वटा जेट सिआरजे २०० र नेपाल वायुसेवा निगमले २ थान चिनियाँ जहाज थप्ने योजना बनाएको छ।
यतिले जहाज थपेपछि दसैंमा यात्रुहरुलाई भने केही राहत मिल्ने भएको छ।